चरम विवादमा देउवाको भारत भ्रमण - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

चरम विवादमा देउवाको भारत भ्रमण



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण विदादित बनेको छ । देउवाले ओहोदा बिर्सिएर पार्टीका कार्यालय जान थालेपछि देउवामाथि चर्को आलोचना भएको हो ।

सामाजिक सञ्जालदेखि संचारमाध्यमसम्म उनको आलोचना भैरहेको छ । उनलाई नेपाली कांग्रेसको सभापतिको रुपमा कि नेपालको प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गएको भन्दै सामाजिक सञ्जालमा प्रश्न सोधिएका छन्।

एमाले नेता भीम रावलले पनि उनका केहि कदमको चर्को विरोध गर्दै यस्ता हर्कतले देशको शिर निहुरिने बताएका छन् ।

प्रधानमन्त्री देउवा शुक्रबार साँझ भारतीय जनता पार्टी (भाजपा)को कार्यालय पुगेसँगै त्यसको आलोचना भइरहहँदा रावलले कूटनीतिक मर्यादा नाघेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत नेता रावलले देउवा भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गएको भन्दै प्रश्न गरेका छन्।

उनले भनेका छन्,’शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेकां सभापतिको? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो?’

यस्ता घटनाले नेपाल हेपिने उनको ठहर छ।

‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेकां सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसंग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो।भ्रमण पारिवारिक हो र? यस्तै कामले नेपाल हेपिन्छ’ उनले लेखेका छन्।

तीन दिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार दिल्ली पुगेका हुन्। उनले शुक्रबार भाजपाको कार्यालयमै गएर पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए। देशका प्रधानमन्त्री सत्तारुढ पार्टीको कार्यालयमै पुगेको भन्दै आलोचना भइरहेको छ।