महेश बस्नेतलाई देउवाले भने: पहिले भक्तपुरमा चुनाव जित, अनि मसँग भिड्न आउ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

महेश बस्नेतलाई देउवाले भने: पहिले भक्तपुरमा चुनाव जित, अनि मसँग भिड्न आउ



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका नेता महेश बस्नेतलाई भक्तपुरमा कांग्रेस सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका छन् । शुक्रबार भक्तपुरमा पुगेर पार्टीको वडा अधिवेशन उद्घाटन गर्दै उनले महेश बस्नेतलाई यस्तो चुनौती दिएका हुन् ।

प्रधानमन्त्री समेत रहेका देउवाले भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशनलाई उद्घाटन गर्दै भक्तपुरमा पार्टीको उपस्थिति मजबुत रहेको पनि बताएका छन्।

भक्तपुर पुगेर सम्बोधनका क्रममा देउवाले एमाले नेता एवम् संघीय सांसद महेश बस्नेतलाई उनकै निर्वाचन क्षेत्रमा पुगेर निशाना बनाए। उनले सम्बोधनका क्रममा पहिले कांग्रेस नेतालाई हराएर आफूसँग चुनाव लड्न आउन चुनौती देउवाले बस्नेतलाई दिएका छन्।

एमाले विभाजनको असर न्यून देखिएको भक्तपुरमा नेता बस्नेतले आफ्नो पकड मजबुत रहेको बताएका थिए। उनले केही साताअघि भक्तपुरमा देउवा नै चुनाव लड्न आए पनि आफूले सजिलै पराजित गरिदिने दाबी गरेका थिए।

यही कुरालाई लिएर प्रधानमन्त्री देउवाले बस्नेतलाई पहिले कांग्रेस नेता थापालाई हराएर देखाउन भनेका हुन्। बस्नेतले भक्तपुरमा कांग्रेसको केही नलाग्ने बताउँदै अर्को चुनावमा बीउ जोगिन मुस्किल पर्ने तर्क गरेका थिए।

‘कांग्रेस भक्तपुरमा मात्रै होइन, देशैभर सशक्त रुपमा अघि बढिसकेको छ’, उनले सम्बोधनका क्रममा भने, ‘बस्नेतजीले आगामी चुनावमा पहिले कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापालाई हराएर देखाउनुस्, त्यसपछि मसँग लड्न आउनुहोला।’

कांग्रेसले शुक्रबारदेखि देशभर वडा अधिवेशन थाल्दैछ। भक्तपुरमा वडा अधिवेशन शुक्रबारदेखि थालेर भदौ २१ गते निर्वाचन हुनेछ। सूर्यविनायक नगरपालिका क्षेत्रका वडा वडा अधिवेशनबाट सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा छानिने छन्।

कांग्रेसले शुक्रबार देशभरका ६ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भनेको थियो। तर ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने भएको छ। भदौ २७ गते गाउँरनगर अधिवेशन रहेकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ।