देउवाका ज्योतिषले दिएका थिए बैशाख ३० गते चुनाव गर्न सुझाव
काठमाडौँ- ज्योतिषीसँगको परामर्शपछि बैशाखमा स्थानीय निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएको खुलेको छ । प्रधानमन्त्री देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले बैशाख ३० गते निर्वाचन गर्न ठिक हुने सुझाव दिएको स्वीकार गरेका छन् ।
सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गते स्थानीय चुनाव गर्न प्रस्ताव गरेपछि देउवाले ज्योतिषीसँग परामर्श गरेको खुलेको छ ।
देउवाले लागेका दुई मितिमध्ये बैशाख ३० गते उत्तम दिन भएकाले उनले यस्तो सुझाव दिएको खुलाएका छन् । बैशाख ३० गते शुक्रबार भएको र अमृत योग पनि परेकोले उनले यो मितिमा गर्न सुझाव दिएका थिए । अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिने हुनाले आफूले यस्तो सुझाव दिएको उनको दाबी छ ।
देउवाले जेठ ४ वा बैशाख ३० कुन मितिमा चुनाव गर्न ठिक होला भन्दै रिजाललाई सोधेका थिए । यसअघि निर्वाचन आयोगसँगको परामर्शमा प्रधानमन्त्री देउवा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए ।
आयोग तयार
सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेको छ । सोमबार बालुवाटाररमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् अघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो । निर्वाचन आयोगकै सुझावअनुसार नै मिति घोषणा भएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।
निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउन सात दिनको समय चाहिन्छ भन्ने आयोगको सुझाव थियो । आयोगकै सुझाव अनुसार निर्वाचन गर्दा के हुन्छ भनेर प्रधानमन्त्री देउवाले आयोगलाई सोधेका थिए । ९३ दिन बाँकी रहन्छ हामी गर्न सक्छौं भन्दै थपलियाले जवाफ दिएका थिए ।