देउवाको उर्दी: गठबन्धनविरुद्ध बोले पार्टीबाट निष्कासन गरिनेछ
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध बोल्न नपाइने बताएका छन् । उनले केपी ओलीलाई ज्ञानेन्द्र बन्नबाट रोक्न पाँचदलीय गठबन्धन गरेको बताउँदै यस्तो चेतावनी दिएका हुन।
गठबन्धनले शनिबार जनकपुरधाममा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले पूर्वप्रधानमन्त्री ओलीले संघीयता, गणतन्त्र समाप्त गरी ज्ञानेन्द्र बन्न खोजेकाले त्यसविरुद्ध ऐतिहासिक गठबन्धन बनेको बताएका हुन् । गठबन्धनविरुद्ध बोल्ने नेता–कार्यकर्तालाई पनि कारबाही गर्ने उनको चेतावनी छ ।
‘जहाँ–जहाँ गठबन्धन छ, त्यहाँ कुनै एक पार्टीको उम्मेदवार होइन, त्यो साझा उम्मेदवार हो । ती उम्मेदवार जिताउनु नै अहिलेको आवश्यकता हो,’ देउवाले भने, ‘अहिले देशभरि गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेर साध्य छैन । कतै–कतै असन्तुष्टि होलान्, तर हामी सबै अनुशासनमा बस्नुपर्छ । गठबन्धनको विरोध सैह्य हुँदैन । गठबन्धनविरुद्ध बोल्नेलाई पनि पार्टीले कारबाही गर्छ, धेरैलाई गरिरहेको पनि छ ।’
जनकपुरधाम उपमहानगरपालिका गठबन्धन दलबाट जसपाका मेयरमा लालकिशोर साह र उपमेयरमा कांग्रेसका किशोरी साह उम्मेदवार छन् । उनीहरूका लागि भोट माग्दै देउवाले भने, ‘यी दुवै उम्मेदवारको पक्षमा मतदान गर्ने र मत माग्ने पार्टीको निर्णय हो । पार्टीको निर्णयविरुद्ध जाने नेता–कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने अवस्था नआओस् ।’
संविधान, लोकतन्त्र र संघीयता रक्षाका लागि निर्माण भएको गठबन्धन स्थानीय तहमा मात्रै होइन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म रहने घोषणा पनि गरे । जनकपुरधाममा परिवर्तन देखिएको बताउँदै देउवाले गठबन्धनको जित भए यहाँको विकासले तीव्रता पाउने पनि बताए । उनले अंगीकृत नागरिकका सन्तानले छिट्टै नागरिकता पाउने विश्वास पनि दिलाए । ‘नागरिकतासम्बन्धी ऐन तयार भइसकेको छ, अदालतको आदेशअनुसार त्यसलाई संसदबाट पार गरेर मात्रै दिन सकिन्छ,’ उनले भने, ‘एमालेको अवरोधका कारण संसद् चलिरहेको छैन । निर्वाचनपछि त्यस विषयलाई अगाडि बढाउँछौँ ।’
शनिबार नै सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीको अत्याचारपछि पाँचदलीय गठबन्धन बनेको बताएका छन् । उनले लोकतन्त्रको स्थायित्वका लागि गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह पनि गरे । पाँचदलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा देउवाले विरोध सहन नसक्ने ओलीले जथाभावी संसद्माथि आक्रमण गरेको बताए । संसद् भंग गरिदिने, कर्मचारी प्रशासन थर्कमान गराउनेदेखि जनता तर्साउने काम ओलीले गरेको आरोप उनले लगाए । ‘ओलीको अत्याचार भएपछि गठबन्धन बनेको हो,’ उनले भने, ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरे संसद् भंग गरिहाल्ने गरेकाले पनि यो गठबन्धन बनेको हो ।’
यसैगरी, प्रधानमन्त्री देउवाले शनिबार नै तनहुँको दमौलीमा आयोजित कांंग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । उनले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने भन्दै गठबन्धन टुटाउने प्रयास परास्त गर्नुपर्ने बताए ।
बुटवलमा आयोजित गठबन्धनको चुनावी सभामा कांग्रेस नेता पौडेलले मुलुकलाई अस्थिरतातर्फ धकेल्न केपी ओलीलाई निमित्त नायक बनाइएको भन्दै संसद्माथि हमला गर्ने, संसद्लाई पंगु बनाउने, अस्थिरतातर्फ मुलुकलाई लैजानेलाई स्थानीय चुनावमा मात्र नभएर संसद्को चुनावमा समेत हराउनुपर्ने बताए ।
संविधान र परिवर्तनको रक्षा गर्न पाँचदलीय परिवर्तनशील गठबन्धन बनेको भन्दै उनले प्रगतिशील गठबन्धनलाई जिताउँदै अगाडि बढाउनुपर्ने र प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने उल्लेख गरे । गठबन्धनबाट बुटवलमा प्रमुखमा उम्मेदवार बनेका खेलराज पाण्डे बुटवलवासीका लागि सहज व्यक्तित्व रहेको भन्दै उनको नेतृत्वको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह पनि गरे । एकीकृत समाजवादीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले रोमाञ्चकारी कथाहरूका आश्वासनले मुलुकको विकास हुन नसक्ने भन्दै परिवर्तनकारी गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन् । उनले गलत प्रवृत्ति र पात्रलाई चुनावमा परास्त गर्नुपर्नेमा जोड दिइन् ।
गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा एकता र मेलमिलाप कायम गर्न पाँचदलीय गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । माओवादी केन्द्रका नेता चक्रपाणि खनालले मुलुकलाई स्थायित्व दिन गठबन्धन बनेको भन्दै निर्वाचनमा गठबन्धनका पक्षमा उभिन आग्रह गरे । तनहुँमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य प्रदिप पौडेलले स्थानीय निर्वाचनमा विजयी हुने कांग्रेसका उम्मेदवारले शासक नभएर सेवक भएर काम गर्नुपर्ने बताए ।