बैठकमा देउवाकै अगाडी कांग्रेस नेताहरूले भरतपुरको मेयर नछोड्ने भनेपछि…
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचनमा तय भएको चुनावी तालमेलबारे छलफल भएको छ।
बुधबार अपराह्न सानेपामा बसेको बैठकमा पाँच दलीय चुनावी संयन्त्रको ‘चुनावी गठबन्धन गर्ने, एकताबद्ध भएर चुनाव लड्ने’ निर्णयबारे जानकारी गराएपछि नेताहरुले स्थानीय पार्टीपंक्ति, नेता कार्यकर्ता र शुभेच्छुकको चाहनालाई ख्याल गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
खासगरी संस्थापनइतर पक्षले चितवनको भरतपुर र पर्साको वीरगंज महानगरपालिका कांग्रेसले छाड्न नहुने धारणा राखेका थिए। भरतपुरमा वडाबाटै पार्टीपंक्तिले मेयर नपाए चुनावी गठबन्धन नमान्ने घोषणा भइसकेको, वीरगंजमा पनि कार्यकर्ता चुनावी तालमेलको निर्णयले असन्तुष्ट रहेको बताएका थिए।
केही सदस्यहरुले भरतपुर महानगरपालिकाको मेयर फेरि माओवादी केन्द्रलाई दिन नहुने माग गरेका थिए। भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल पुन: मेयरको उम्मेदवार बन्ने चर्चा र रेणुलाई भरतपुर दिन देउवा सकारात्मक भन्ने खबरहरु आएका बेला सदस्यहरुले बैठकमा कार्यकर्ताको भावनालाई नेतृत्वले ख्याल गर्नुपर्ने बताएका थिए।
नेताहरुले कार्यकर्ताको भावनालाई ख्याल गरेर भरतपुरलगायत महानगर नछोड्न सुझाएपछि सभापति शेरबहादुर देउवा बोलेका थिए।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार कुन महानगरपालिका कसलाई दिने भन्ने टुंगो नलागेको र गठबन्धनमा छलफलमै रहेको जवाफ दिएका थिए। उनले कार्यकर्ताको भावना, देश र गठबन्धनको हितलाई हेरेर निर्णय लिने बताएका थिए।