एकलौटी गरेपछि चुनावको मुखमा देउवा संकटमा
काठमाडौँ- नेपाली कांग्रेसमा चरम असन्तुष्टि देखिएको छ । निर्वाचन नजिक आएसँगै कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै त्यसको बदला लिने तयारी थालिएको छ ।
पाँच दलीय गठबन्धन निर्वाचनमा होमिएको बेला गठबन्धनको नेतृत्व गरेकै दलमा तनाव देखिएको छ । गठबन्धन र सभापति देउवाको कार्यशैलीको विरोध गर्दै आएको शेखर समूह देउवालाई देखाइदिने अभियानमा छन् । चुनावकै मुखमा कांग्रेसमै कलह बढेपछि गठबन्धनकै दलहरू भने सशंकित बनेका छन् ।
पार्टीको महाधिवेशन लगत्तै देउवाबाट पेलिन थालेको नेता डा. शशांक कोइराला नेतृत्वको संस्थापनइतर पक्ष अहिले देउवाको वुरुद्धमा देखिएको छ । त्यस्तै देउवाले ढोका दिएको भन्दै निवर्तमान उपसभापति विमलेन्द्र निधि समेत देउवासँग असन्तुष्ट देखिएका छन् ।
कोइरालानिकट एक नेताका अनुसार देउवा पक्षले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा एकलौटी गरेको छ । त्यसप्रति कोइरालाले असन्तुष्टि जनाउँदै आएका हुन् । त्यतिमात्र होइन शेखर समूहलाई निरन्तर देउवाले पेल्दै आएको कारण पनि देउवाको नेतृत्वमा भएका कार्यक्रमहरूमा असहयोग गर्ने उनीहरूको अभियान छ ।
निर्वाचन आउन चार दिन बाँकी छँदासम्म कोइराला गठबन्धन दलका उम्मेदवारहरूलाई मत मागिरहेका छैनन् । कोइरालाले गठबन्धन दलहरूबीच तालमेल भएर ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता लगत्तै गठबन्धनको विरोध गरेका थिए ।
उनले भनेका थिए,‘अहिले दुःखका भन्नुपर्छ, टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समान रूपले न्याय गर्न सक्नु भएन ।’कोइराला सुरुदेखि नै निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेलमा अरुची राखेका नेता हुन् ।
कम्युनिस्ट पार्टीहरू टुटफुटको स्थितिमा रहेको भन्दै तालमेल नगरी निर्वाचनमा जाँदा कांग्रेस पहिलो हुने उनको तर्क थियो । तर, १४ चैतमा सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा बहुमतले तालमेल गरेर निर्वाचनमा जाने निर्णय पारित गरेको थियो ।
त्यसप्रति पनि उनको असन्तुष्टि रहँदै आएको छ । उनले विज्ञप्ति जारी गरेर उनले सभापति देउवाविरुद्ध पार्टीमा लडिरहने उद्घोष यसअघि नै गरिसकेका छन् । ‘हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर, पनि हामी लड्छौं’, उनको भनाइ थियो ।
कोइराला मात्र होइन, निवर्तमान उपसभापति विमलेन्द्र निधि पनि देउवाप्रति सन्तुष्ट छैनन् । पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले चुनावी सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा आफूलाई नराखेको भन्दै असन्तुष्ट भएका हुन् । त्यही भएर उनले मधेस प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिकामा आयोजित गठबन्धनको चुनावी सभा बहिस्कार गरे । जुन सभालाई सम्बोधन गर्न पार्टी सभापति देउवालगायत गठबन्धन दलका शीर्ष नेताहरू पुगेका थिए ।
चितवन लगायत विभिन्न स्थानमा भएका गठबन्धनका चुनावी सभाहरूमा कांग्रेसका प्रभावशाली नेताहरूलाई बक्ताका रूपमा प्रचार गरिएको थियो तर नेताहरू भने कहिंपनि जान मानेनन् । शेखर कोइराला, गगन थापा विमलेन्द्र निधि, विश्वप्रकाश शर्मालगायतका नेताहरूले गठबन्धनका संयुक्त सभाहरू बहिस्कार नै गरिसकेका छन् ।
कांग्रेसमा यसअघि देउवालाई घरिघरी आलोचना गर्ने गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने अहिले पूरै साथ देउवालाई नै दिइरहेका छन् । तर संस्थापनइतर समूह भने देउवासँग झनझन् टाढिएको छ ।
एकातिर कांग्रेसभित्र गठबन्धन गर्नु हुँदैन भन्ने कार्यकर्ताको संख्या ठुलो छ त्यसैमाथि प्रभावशाली भनिएका नेताहरू नै संयुक्त चुनावी सभा बहिस्कार गरेर बसेका छन् ।
कांग्रेसभित्र देखिएका पछिल्ला घटनाक्रमले पार्टीमा संकट गहिरिंदै गएको संकेत गरेको कांग्रेसकै नेताहरू बताउन थालेका छन् । देउवाले पुरानै शैलीमा एकलौटी गर्न थालेपछि यस्तो अवस्था आएको कतिपय नेताहरूले बताएका छन्।
देउवाले पार्टीभित्र मनोमानी गरेको भन्दै उनलाई सहि मौकामा अफ्ठ्यारोमा पार्ने मौका खोजेको संस्थापन इतर समूह अहिले देउवाविरुद्ध जुर्मुराएको छ ।