पास फेल जे भएपनि एमसीसी संसदमा लैजानुपर्छ - देउवा - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

पास फेल जे भएपनि एमसीसी संसदमा लैजानुपर्छ – देउवा



प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भएपनि एमसीसीबारे संसदले टुंगो लगाउने बताएका छन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको बताएका हुन् । उनले संसद नै जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे संसदले निर्णय दिने बताए ।

‘हामी एमसीसीको पक्षमा छौं । हाम्रो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । अब पास फेल जे हुन्छ संसदले टुंग्याउनुपर्छ’, देउवाले भने ।

एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको भन्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुदान नेपालको हितमा रहेको दाबी गरे । ‘एमसीसी देशको हितमा छ । कांग्रेसले एमसीसीको पक्ष लिन डराउनुपर्ने केही छैन’, देउवाले भने ।

उनले एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउन पहल भइरहेको समेत जानकारी दिए ।