गठबन्धन बैठकमा देउवाको गुनासो – राष्ट्रपतिबाट अनावश्यक हस्तक्षेप भयो
सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले अनावश्यक हस्तक्षेप गरेको भन्दै गुनासो गरेका छन् ।
देउवाको यस्तो गुनासो आएपछि बैठकमा उपस्थित सबै दलका शीर्ष नेताले राष्ट्रपतिले असंवैधानिक काम गरेको भन्दै आलोचना गरेका थिए ।
राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्रीलाई स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेकी थिइन् । करिव एक घण्टा भएको भेटमा भण्डारीले लिखित रुपमै धारणा राखेको र त्यही पत्र प्रधानमन्त्रीलाई थमाएकी थिइन् ।
पत्रमा स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने सरकारी तयारीलाई चिन्ताजनक भन्दै राष्ट्रपतिले समयमै निर्वाचन गराउने दायित्वबाट सरकार भाग्न नमिल्ने बताएकी थिइन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिको पत्रबारे छलफल भएको थियो । नेताहरुले राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र दिनु असंवैधानिक भएको बताएका छन् ।
‘राष्ट्रपतिले राजनीति गर्न खोज्दै हुनुहुन्छ राजनीतिक महत्वाकांक्षाका कारण उहाँले असंवैधानिक कदम चाल्नु भएको छ,’ बैठकमा सहभागी एक नेता भन्छन् ।