देउवाका लागि ओली भन्दा प्रचण्ड-नेपाल ‘कम्फर्टेबल’
निकै लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना (एमसीसी) प्रतिनिधि सभामा टेबल भएको छ । सत्तारूढ गठबन्धनकै सांसदहरूको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएका थिए ।
एमसीसी टेबल भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ध्रुवीकृत भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रवक्ता कृष्णबहादुर महरा दुवैले आफ्नो दल एमसीसीको विरुद्धमा रहेको वक्तव्यमार्फत प्रष्ट पारेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि आफ्नो दल एमसीसी पारित गर्ने पक्षमा नरहेको प्रष्ट पारेको छ । गठबन्धनमा रहेका बाँकी दुई दल जसपा र राजमोमा पनि एमसीसीलाई लिएर विवाद कायमै छ ।
यस्तो अवस्थामा प्रश्न उठ्छ के संसदबाट सहजै एमसीसी पास हुन्छ त ?
प्रतिनिधि सभा नियमावलीअनुसार एमसीसी पास गर्न संसदमा उपस्थित सांसदहरूको बहुमत चाहिन्छ । मतविभाजन भन्दा अघि सभामुखले ध्वनीमत गराउन गराउन सक्नेछन् ।
दलहरूबीच एमसीसी अगाडि बढाउने सहमति भएमा सैद्धान्तिक छलफल सकिएपछि सभामुखले एमसीसीलाई स्वीकृत गरियोस् भनेर निर्णयार्थ पेश गर्नेछन् । स्वीकृत भएपछि मात्र एमसीसी संसद्को सम्पत्ति हुन्छ ।
प्रतिनिधि सभामा उपस्थित सदस्य संख्याको बहुमतले स्वीकृत गर्ने प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको व्यवस्था छ । उपस्थित संख्याको बहुमतले ‘हुन्न’ भन्यो भने सम्झौता पहिलो चरणमै फेल हुन्छ ।
नेकपा एमालेले एमसीसीबारे आहिलेसम्म आफ्नो पोजिसन क्लियर गरिसकेको छैन । एमाले विपक्षमा उभियो र माओवादी र नेकपा एसले ‘हुन्न’ भनेमा एमसीसी त्यहीँ अस्वीकृत हुन्छ । ‘विचार गरियोस् भन्ने प्रस्ताव नै अस्वीकृत भएमा, सम्झौता फेल भएको ठानिन्छ र अरू प्रक्रियामा जानु पर्दैन,’ सचिवालयका एक अधिकारीले भने ।
विचार गरियोस् भन्ने प्रस्ताव पारित भएमा प्रतिनिधि सभामा दफावार छलफल हुनेछ ।
कुनैपनि विधेयक या सन्धि सम्झौतामाथि सैद्धान्तिक छलफल सकेर स्वीकृत भइसकेपछि सांसदहरूलाई संशोधन प्रस्ताव हाल्नका लागि समय दिने व्यवस्था छ ।
प्रतिनिधि सभा बैठक सञ्चालनका लागि कोरम पुर्याउन बहालवाला सांसद संख्याको एक चौथाइ अर्थात् ६८ जना भए पुग्छ ।
ध्वनि मतले पारित गर्नका लागि उपस्थितिको बहुमत अर्थात् ३५ जना भए पुग्छ । तर, संसद् बैठकमा एमालेका सबै ९८ जना उपस्थित भए भने बहुमत पुर्याउन ९९ जना आवश्यक पर्छ ।
अर्कातर्फ २८ जना सांसद उभिएर सभामुखको निर्णयप्रति असहमति प्रकट गरेमा एमसीसी मतदानमा पनि जान सक्छ ।
एमसीसी फेल भइहालेमा कांग्रेसले गठबन्धनमाथि पुनर्विचार गर्छ त भन्ने प्रश्नमा नेपाली कांग्रेसका एक सांसदले भने, ‘फेल भयो भने फेल भइहाल्यो नि, त्यसपछि एमसीसीको च्याप्टर क्लोज हुन्छ । राजनीति जस्ताको त्यस्तै अघि बढ्छ । देउवालाई ओली भन्दा पनि प्रचण्ड-नेपालसँगकै गठबन्धन कम्फर्टेबल हुन्छ ।’
एमसीसी टेबल भएपछि संसद भवनबाट बाहिर निस्कने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘अब एमसीसी पास हुन्छ ।’
देउवा एमसीसी पास हुनेमा ढुक्क देखिन्छन् । एमसीसी पास भइहाल्यो भनेपनि राजनीतिक समीकरणमा कुनै फेरबदल नआउने र फेल भइहाल्यो भनेपनि देउवाका लागि त्यो हाइसन्चो हुने देखिन्छ । तर दुवै अवस्थामा देउवा भने गठबन्धन परिवर्तन गरेर राजनीतिको कोर्स अन्यत्र लैजान तयार नभएको हिमालपोस्टसँग कुरा गर्दै कांग्रेसका ती सांसदले बताए ।