बतासले देउवासँग किन मागेका थिए त्यतिधेरै पैसा ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बतासले देउवासँग किन मागेका थिए त्यतिधेरै पैसा ?



यतिबेला निकै विवादमा तानिएका व्यापारिक समूह बतासका प्रमुख आनन्द बतासले पोखरास्थित मणिपाल मेडिकल शिक्षण कलेज किन्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पैसा मागेको विषय चर्चामा छ ।

गत आसार २८ गते सर्वोच्च अदालतले दोस्रोपटक भएको संसद विघटनको मुद्दामा फैसला सुनाउनुअघि बतासले देउवालाई भेटेर मणिपाल शिक्षण कलेज किन्न लागेकाले पैसा चाहिएको भन्दै अनुरोध गरेका थिए ।

यसबारे रातोपाटीका प्रधान सम्पादक अरुण बरालले समेत सोमवार प्रकाशित आफ्नो लेखमा पुष्टि गरिसकेका छन् ।

बरालले बतासलाई उदृत गर्दै लेखेका छन्, ‘दाइ, ३ अर्बमा पोखराको मणिपाल कलेज किन्न लागेको छु, पैसा पुगेन, अलिकति दिनुपर्यो ।’

बरालका अनुसार देउवाले कुनै प्रतिक्रिया दिएनन् । बरु आरजूले भनिन् – ‘हामीसँग कहाँ पैसा छ र ? बरु चलाउने नै हो भने म लगानीकर्ताहरू खोजिदिउँला ।’

आफू विवादमा आएपछि बतासले सञ्चारमाध्यमहरूसँग गरेको कुराकानीमा आफू देउवा र आरजु राणाको नजिक भएपनि पैसा नै मागेको बताएका छैनन् ।

तर विभिन्न स्रोतहरूले २०५७ सालदेखि नै बतास र देउवाको सम्बन्ध राम्रो भएको बताउने गरेका छन् । पोखरामा भएको नेपाली कांग्रेसको दशौँ महाधिवेशनमा देउवाले पोखरास्थित बतासको आनन्द होटेललाई आफ्नो हेडक्वार्टर बनाएका थिए ।

त्यसयतादेखि नै देउवानिकट व्यवसायीको छबी बनाएका थिए बतासले ।

बतासले देउवापत्नी राणालाई आफ्नो व्यवसायीक ग्रुपको सल्लाहकार बनाएका थिए । लामो समयदेखि बतास ग्रुपकी सल्लाहकार रहेकी राणाले बतास विवादमा आएपछि आफ्नो संलग्नता नरहेको भन्दै प्रेस नोटसमेत सार्वजनिक गरेकी थिइन् ।

बतासले देउवासँग मागेको पैसा पाए कि पाएनन् यो या त बतासलाई थाहा छ, या त देउवालाई नै थाहा छ । तर सर्वोच्च अदालतको आदेशपछि देउवा प्रधानमन्त्री भए । त्यसलगत्तै बतासले मणिपाल कलेज पनि किने ।

मणिपाल कलेजको खरिदबिक्री पनि त्यतिबेला निकै विवादास्पद बनेको थियो ।