आज पनि देउवा बालकोट जाने, ओलीसँग निर्णायक वार्ता - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

आज पनि देउवा बालकोट जाने, ओलीसँग निर्णायक वार्ता



एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेका बेला एमालेसँग सहयोगको हात बढाएका प्रधानमन्त्री शेरबहादुर देउवा आज पुनः बालकोट जाँदैछन् ।

माओवादीको लिखित निर्णय आउन ढिला भएपछि देउवाले आजै साँझ बालकोट आउने जानकारी केपी ओलीलाई गराएका छन् ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ताअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुबीच बालकोटमै छलफल हुँदैछ ।

बिहीबार र शुक्रबार लगातार लामो छलफल गरेका दुई पार्टीबीचको आजको वार्तालाई निर्णायक र अर्थपूर्ण मानिएको छ ।

माओवादी केन्द्रले एमसीसी पारित गर्न सघाउने र गठबन्धन जोगाउने मध्यमार्गी विकल्प लगे पनि प्रधानमन्त्री विश्वस्त हुन नसकेको र माओवादीलाई साथमा लिएर हिड्दा अन्तर्राष्ट्रिय समुदायसमेत कांग्रेसप्रति सकारात्मक नहुने देखिएपछि देउवाले एमालेसँगै सहमतिमा जोड दिएको स्रोतले जनाएको छ ।

यद्यपी एमालेका नेताहरु गठबन्धन भत्किने अवस्थामा प्रचण्ड- माधवले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय देउवालाई बुझाउने आँकलन गरिरहेका छन् । त्यसैले अहिलेको वार्ता एमालेको भन्दा पनि कांग्रेसको रुचीमा भइरहेको उनीहरुको भनाइ छ ।

आजै कांग्रेस र एमालेबीच कुनै लिखित सहमति हुनेबारेमा दुवै पक्षका नेताले प्रष्ट बताएका छैनन् । तर शुक्रवार राति नै एकखालको समझदारी भएको र त्यसको फाइनल टच आज हुने नेताहरुको भनाइ छ ।

वार्तामा सहभागी भइरहेका एक नेताले भने- स्थायी ठाउँ ठेगाना नभएका र उत्तरदायित्व पनि बोक्नु नपर्ने प्रचण्ड–माधवलाई लिएर हिँड्दा कुनै पनि बेला दुर्घटनामा पर्ने देखिएपछि सभापतिज्यूले एमालेसँगै सहकार्य गर्न खोजेको थियो । भोलि जस अपजसको भागिदार पनि यीनै ठूला दलले बोक्दा जनमत एकै ठाउँमा हुन्छ भन्ने लागेको होला ।

अमेरिकीहरुले पनि एमाले र कांग्रेस मिल्दा नेपालको ७० प्रतिशत जनमतको प्रतिनिधित्व हुने भएकाले गठबन्धन भत्काएर एमालेसँग एकल प्रतिस्पर्धामा जान देउवालाई सुझाव दिएको नेताहरु बताउँछन् ।

एमालेले गठबन्धन भत्काएर अघि बढे सरकारमा सहभागी नभई चुनाव गराउन सघाउने आश्वासन देउवालाई दिएको छ । परमादेशबाट बनेको सरकारमा एमाले सहभागी भने नहुने बताइएको छ ।