देशभरको ताजा अवस्था - ठाउँ-ठाउँमा बम, गाडी जलाइए - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

देशभरको ताजा अवस्था – ठाउँ-ठाउँमा बम, गाडी जलाइए



सुर्खेत–नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए ।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

काठमाडौं –

राजधानीसहित देशका विभिन्न स्थानमा बम फेला परेको छ । सोमबार कार्यकर्ता हत्याको विरोधमा प्रतिबन्धित विप्लव समूहले बन्द आह्वान गरेको र त्यसलाई सफल बनाउने उद्देश्यका साथ आतंक फैलाउन बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।

बिहानै राजधानीका विभिन्न स्थानमा बम फेला परेको छ । सातदोबाटो, भैसेपाटी र हात्तीबनमा बन फेला परेको हो ।
यसअघि आइतबार पनि राजधानीको विभिन्न स्थानमा बम फेला पर्नुका साथै तीन स्थानमा विस्फोट समेत हुँदा ४ जनाको ज्यान गएको थियो ।

पोखराका तीन ठाउँमा शङ्कास्पद वस्तु –

पोखरा–पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यस्तै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै बिहान करिब पौने तीन बजे प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा फेला पारेको शंकास्पद बस्तुलाई सुरक्षाकर्मीले निस्किृय पारेको छ ।