बन्दले जनजीवन प्रभावित - देशभर कहाँ के भयो ? - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

बन्दले जनजीवन प्रभावित – देशभर कहाँ के भयो ?



काठमाडौं -नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण सोमबार काठमाडौंलगायत देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ।

बन्दको पूर्वसन्ध्यामा आइतबार साँझ राजधानीमा शृंखलाबद्ध बम विस्फोट गराएर आतंक सिर्जना गरेको विप्लव समूहले सोमबार बिहान पनि देशका विभिन्न स्थानमा बम राख्ने तथा गाडी जलाउने गरेको छ।

त्रिभुवन राजपथअन्तर्गत हेटौंडाको चौकीटोलस्थित प्रहरी चौकीनजिकै विप्लव समूहले ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यस्तै हेटौंडाको बुद्धचोकनजिक राखिएको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले सोमबार बिहान ५ बजेतिर बम डिस्पोज गरेको प्रहरीले जनाएको छ। बम निष्क्रिय बनाउने क्रममा ठूलो आवाज आएपछि स्थानीय बासिन्दा त्रसित भएका थिए।

विप्लव बन्दका कारण हेटौंडा बजार पूरै सुनसान भएको छ। कुनै पनि सवारीसाधन नचलेको स्थानीय बासिन्दाले बताएका छन्।

राजधानी काठमाडौंमा गाडी अन्य दिनभन्दा पातलो मात्र चलेका छन् भने अधिकतर शैक्षिक संस्था बन्द भएका छन्। राजधानीबाट बाहिरी जिल्ला जाने गाडी पनि एकदमै कम मात्र चलेका छन्।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंसी पुलमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ। नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर बम निष्क्रिय पारेको हो।

यस्तै धादिङकै नौबिसेमा शंकास्पद बस्तु फेला परेको छ। अहिले सो स्थानलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय बनाउने प्रयास गरिरहेका छन्।

धादिङका स्थानीय बासिन्दा त्रसित भएका छन् । सवारीसाधन पनि कम चलेका छन्। पृथ्वी राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीहरुले स्कर्टिङ गरेर गाडीहरुलाई गन्तव्यमा पुर्‍याइरहेका छन्।

आइतबार अपराह्न काठमाडौंका विभिन्न स्थानमा बम विस्फोट गराउँदा चार जनाको ज्यान गएको थियो।

प्रहरीले भोजपुरमा आफ्नो कार्यकर्ता तीर्थ घिमिरे ‘राजु’लाई गोली हानेर हत्या गरेको भन्दै विप्लव समूहले सोमबार बन्द आह्वान गरेको हो।

सरकारले चलाएको हत्याहिंसाविरुद्ध प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै विप्लव नेकपाले तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ।

यसैबीच प्रहरीले राजधानीसहित देशभरको सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेको छ।