बाढीपहिरोले देशैभरि तनाव: बिहानैदेखि दुखका खबर आउन सुरू - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

बाढीपहिरोले देशैभरि तनाव: बिहानैदेखि दुखका खबर आउन सुरू



काठमाडौं- बाढीपहिरोको कारण देशभरका सडक अवरुद्ध भएका छन्। राजधानी काठमाडौं आवात जावत गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग सोमबार बिहानैदेखि अवरुद्ध छ।

मुग्लिन-नारायणगढ सडक खण्डमा पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित मौवाखोलाको पुल बाढीले भत्किएको छ। पृथ्वी राजमार्गमा पर्ने चितवन र धादिङका ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ।

मौवाखोलामा बेलिब्रिज राखेर सडक सञ्चालन गर्ने तयारी सुरु गरिएको सडक विभागले जनाएको छ। तर, त्यसका लागि अझै एकदुई दिन लाग्ने विभागको भनाई छ।

राजधानी काठमाडौंलाई हेटौंडासँग जोड्ने छोटो मार्ग बल्खु कुलेखानी हेटौँडा र कान्ति लोकपथ पनि बाढीपहिरोको काराण अवरुद्ध छ। मकवानपुरको इन्द्रसरोवर गाउँपलिकाका विभिन्न ठाउँमा पहिरो जाँदा वर्खा लागेदेखि नै बल्खु हेटौँडा सडक भएर निर्वाध गाडी चल्न सकेका छैनन्।

त्यसैगरी विपी राजमार्ग पनि अवरुद्ध छ। सिन्धुलीको कमेरेफाँटमा पहिरो जाँदा यो सडकमा गाडी चल्न सकेका छैनन्।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा पहिरो खसेकाले सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ। त्यस्तै बेनी जोमसोम कोरोला सडकखण्डमा पर्ने म्याग्दीको काभ्रेभिर, दाना, गलेश्वर र म्याग्दीकै घोप्टेभिरमा पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको छ।

अरनिको राजमार्ग पनि बाढीपहिरोले अवरुद्ध छ। यो सडकखण्डमा पर्ने माथिल्लो भोटेकोशी ड्याम, डाकलांग, चाकु, झ्याले, जबमु, खग्दोल, सिरिशे र खुर्सानीबारीमा खसेको पहिरोले बाटो नै बगाएको सडक विभागले जनाएको छ।

त्यसैगरी कोसी राजमार्ग, कर्णाली राजमार्ग, सिद्धिचरण राजमार्ग, बेसिशहर चामे सडक पनि ठाउँठाउँमा पहिरो खसेका कारण अवरुद्ध बनेका छन्।