महतोलाई तत्काल देश निकाला गर्न उठ्यो आवाज - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

महतोलाई तत्काल देश निकाला गर्न उठ्यो आवाज



काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो अहिले विवादको केन्द्रमा छन् । सामाजिक संजाल उनको विरोधमा रंगिएको छ । यस्तैमा महतोलाई देशनिकाला गर्नुपर्ने आवाज उठेको छ ।

देशको सार्वभौमसत्ता र अखण्डता विरुद्ध अभिव्यक्ति दिएर महतो अहिले विवादित बनेका छन् । कतिपयले उनलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

नयाँ पार्टी नेपालले शनिबार विज्ञप्ति जारी गर्दै कामचलाउ सरकारमा सहभागी भई उपप्रधानमन्त्री बनेका महतोलाई देशनिकाला गर्नुपर्ने माग राखेको हो।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उपप्रधान एवं सहरी विकासमन्त्रीबाट निलम्बन गरी निजको नागरिकताको सम्बन्धमा परेको उजुरीउपर छानबिन गरी आवश्यक कारबाही गरी देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्दा लगाई देशनिकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।’

यदि, सरकारले उक्त कदम नचालेको खण्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिनुपर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्दा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावनाविपरीत कदम रहेको पनि पार्टीको ठहर छ।

असंवैधानिक रुपमा संसद विघटन गरी निर्वाचनसमेत घोषणा गरिसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गरेको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ।