देशको राज्यसत्ता कमजोर छ :चित्रबहादुर केसी - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

देशको राज्यसत्ता कमजोर छ :चित्रबहादुर केसी



नयाँ दिल्ली /इन्द्र कमल जैरु 

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले देशको राज्यसत्ता कमजोर रहेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ भारत शाखाले बिहीबार दिल्लीमा आयोजना गरेको प्रवासी नेपालीहरूको सुरक्षा र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मुलुकमा गणतन्त्र आईसकेपछि देशका नागरिकले सहजै अन्य मुलुक जान पाए पनि राज्य सत्ताले उनीहरूको ख्याल राख्न नसकेको बताउनु भयो ।

उहाँले राज्यसत्ताले अन्य मुलुकमा रहेका नेपालीको समस्या र उनीहरूको सुरक्षाका लागि दबाब दिन नसकेको बताउनु भयो । उहाँले देशमा अहिले शक्तिशाली सरकार बनेको भन्दै सरकारले दबाब दिएर आफ्ना नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका केसीले देशको विकासका आधारमा अन्य देशमा नागरिकको सम्मान हुने गरेको बताउनु भयो ।

नेपालीहरूलाई भारतमा गरिने व्यवहारको उदाहरण दिँदै उहाँले कुनै अमेरिकी अथवा जापानी नागरिक आउँदा र नेपाली नागरिक आउँदा हेर्ने दृष्टिकोण फरक हुने बताउनु भयो । त्यसै गरी उहाँले सङ्घीयता नेपालको सन्दर्भमा कुनै पनि हालतमा ठिक नभएको दोहोर्याउनु भयो। सङ्घीय प्रणाली लागू गर्न आधार हुनुपर्ने भन्दै उहाँले नेपालमा सङ्घीय प्रणाली लागू गरिने कुनै आधार नभएको बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ भारतका अध्यक्ष लोकेश शाहले अध्यक्षता गरेको कार्यक्रममा नेपाली राजदूतावासका काउन्सेलर  पुरोषत्तम कडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका ठाकुर खनाल, एभरेस्ट चेम्बर अफ कमर्सका बिनबहादुर कुँवर, नेपाल रेमिटका देवेन्द्र कुँवर विशेष अतिथि रहनु भएको थियो । पत्रकार महासङ्घका महासचिव गोविन्द पोखरेलले सञ्चालन गरेको कार्यक्रममा प्रवासी नेपालीहरूको उपस्थिति रहेको थियो ।