आईपीएल:अन्तिम खेलमा दिल्ली क्यापिटलको शानदार जित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

आईपीएल:अन्तिम खेलमा दिल्ली क्यापिटलको शानदार जित



काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटलले शानदार जित दर्ता गरेको छ। आफ्नै मैदानमा राजसंस्थान रोयललाई २३ बल बाँकी हुँदा दिल्लीले ५ विकेटले पराजित गरेको हो।

नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी भएको दिल्लीले लिग चरणको अन्तिम खेलमा उनलाई भने टिममा समावेश गरेको थिएन। दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा ११५ रनको लक्ष्य पेश गरेको थियो।

राजस्थानको चुनौतीलाई दिल्लीले २३ बल बाँकी हुँदै १६.१ ओभरमा पाँच विकेटको जित दर्ता गरेको हो। ११५ रनको लक्ष्य पछ्याएको दिल्लीले ५ विकेटको क्षतिमा १२१ रन बनायो।

दिल्लीका लागि अक्षर पटेलले सर्वाधिक ५३ रन बनाए। जितका लागि एक रन आवश्यक हुँदा ४७ रन मात्र बनाएका पटेलले अन्तिम बलमा छक्का हान्दै अर्धशतक पूरा गरेका हुन्। यो जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। १४ खेल खेल्दा ९ मा जित निकालेको दिल्लीले १८ अंक बनाएको छ। १३ खेलबाटै ९ जित निकाल्दै १८ अंक बनाएको चेन्नेइ शीर्ष स्थानमा छ।

आईपीएलको १२ औं संस्करणमा सर्वाधिक विकेट लिने दक्षिण अफ्रिकाका तीव्र बलर कासिगो रबाडाको अनुपस्थितिमा मैदान उत्रिएको दिल्लीले मैदानमा उनको अभाव खड्किन दिएन।

राजस्थानलाई कम स्कोरमै रोक्न दिल्लीका लागि इशान्त शर्मा र अमित मिश्राले समान तीन–तीन विकेट लिए भने ट्रेन्ट बोल्टले दुई विकेट लिए। सञ्जु सामसन भने रन आउट भएका थिए।

राजस्थानका लागि आईपीएलकै कम उमेरका खेलाडी रियान परागले अर्धशतक बनाए। उनले ४९ बलमा ५० रन बनाएका थिए। राजस्थानका लागि अन्य ब्याट्सम्यानले भने राम्रो स्कोर बनाउन सकेनन्।

आईपीएलको ११ औं संस्करणमा डेब्यू गरेका सन्दीपले १२ औं संस्करणमा ६ खेल खेल्दा ८ विकेट लिएर राम्रो उपस्थिति देखाएका छन्। बलिङ इकोनोमीमा भने उनले सुधार गर्न सकेका छैनन्। ६ खेल खेल्दा उनको बलिङ इकोनोमी ९.१३ छ।

आइतबार बैंग्लोरविरुद्धको खेल सन्दीपका लागि सबैभन्दा खराब बनेको थियो। गत सिजन बैंग्लोर विरुद्धकै खेलबाट आईपीएलमा प्रवेश पाएका सन्दीपले तीन खेल खेलेका थिए।

आइतबार बैंग्लोरविरुद्ध टोलीका लागि सबैभन्दा महंगो बलिङ गरी कुनै विकेट लिन सकेनन्। त्यसपछि सन्दीप चेन्नेइविरुद्धको खेलमा सहभागी भएनन् भने शनिबारको खेलमा पनि उनले मौका नपाएका हुन्।

शनिबार दोस्रो खेलमा अहिले रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्।