भारतमा नेपालीहरूको स्थिति भयावह
अर्जुन खनाल/नयाँ दिल्ली
विश्वभर कोरोना सङ्क्रमणको कहर बढिरहेको छ। हरेक देशले आफ्नो किसिमको सावधानी अपनाइरहेका छन् भने नेपालले पनि दुवै देशसँग जोडिएका सबै सीमानाकाहरू बन्द गरिसकेको छ।
छिमेकी मुलुक भारतमा अन्य देशको तुलनामा कैयौँ गुणा बढी नेपालीहरूको बसोबास रहेको छ। खास गरी मजदुर र ज्यालादारी गरेर परिवारको पेट पाल्नेको सङ्ख्या बाक्लो छ भने पढ्न आएका विद्यार्थीहरूको सङ्ख्या पनि निकै ठुलो छ। नेपाल-भारत सीमा बन्द भएपछि र भारतमा २१ दिने लामो लकडाउन घोषणापछि भारतमा रहेका हजारौँ नेपालीहरूको बिचल्ली भएको छ।
भारतको केरला, राजस्थान, सिमला, देहरादुन, गाजियाबाद, नोयडा, गुजरात, हैदरावाद, दिल्ली, कलकत्ता, मुम्बई, बेंगलोर लगायतका स्थानमा हजारौँ नेपालीहरू खाने-बस्ने व्यवस्थाबाट बन्चित भएका छन्। खास गरी यहाँ होटेल, फ्याक्ट्री, क्यान्टिन आदिमा काम गर्ने निम्न वर्गका नेपालीहरूलाई लामो बन्दको कारण देखाई मालिकहरूले निकालिदिएको र पुरा तलब पनि नदिएको गुनासो व्यक्त गरेका छन्। साथै उनीहरूमा नेपाल फर्कन नपाएको पिडा त छ।
अर्घाखाँची मालारानीका श्याम खनाल भन्छन् “हामी त यहाँ जसो त्यसो टिकौला तर गाउँमा वयोवृद्ध आमा-बा र आफन्त जो दिनहुँ अनेक समाचार सुन्छन्/देख्छन्, हामीलाई देशमा देख्न नपाउँदा मर्माहत हुनुहुन्छ। बरु जस्तै दुःख भोगेपनि आफ्नै देशमा भोग्न परोस्, परिवारको नजिक भएपछि कमसेकम उहाँहरूलाई सन्तोष हुन्छ नत्र हाम्रै पीडाले उहाँहरूलाई केही हुन्छ कि भन्ने चिन्ता छ।“
होटेल तथा फ्याक्ट्रीबाट निकालिएपछि साथीको कोठामा ८-१० जनाको समूहमा बस्नु परेको पिडा सहित घर बहालवालाले छिटो कोठा खालि गर्न दबाब थेगीनसक्नु छ। जेनतेन बस्ने व्यवस्था भए पनि खाने व्यवस्था गर्न गाह्रो भएको छ। पसलहरू बन्द छन् भने हिँडेरै भए पनि नेपाल जान खोज्दा प्रहरी प्रशासनले कोठा बाहिर निस्कन दिएको छैन।
कैयौँ नेपालीहरू उपचार तथा तीर्थाटनको लागि भारत आएका छन् जो पछिल्लो कोरोना सङ्क्रमण पछि विकल्प विहीन बनेर यहीँ बस्नु पर्ने बाध्यतामा छन् र साथमा भएको रकम सकिदैंछ। रकम भएकाहरू सँग पनि बस्ने तथा नेपाल फर्कने कुनै व्यवस्था छैन।
पीडित नेपालीहरू भन्छन् बरु नेपाल फर्केर हामी एक महिनानै क्वारेन्टाइनमा बस्न तयार छौ तर यहाँ यस्तो पिडा भोगेर बस्न सक्ने स्थिति छैन। बरु मरे देशमै मर्छौँ तर यहाँ परदेशमा बन्दी भएर भोकभोकै मर्न सकिँदैन।
अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्का भन्छन् “भारत प्रवासमा रहेका नेपालीहरू जो जहाँ हुनहुन्छ त्यहीँ सुरक्षित बस्नु होला। भारत सरकार र नेपाल सरकारको अर्को निर्णय नआउँदासम्म नेपाल फर्कन सम्भव छैन। बरु खाना बस्नको व्यवस्था अत्यन्त नाजुक भएको अवस्थामा दिल्ली/दिल्ली आसपास दूतावासको समन्वयमा हामी अस्थायी शिविर तयार गरिदिने छौँ। यस्तो स्थितिमा हामीले सरकारलाई सहयोग गरौँ।“
लक्ष्मीनगरमा रहेकी सिए विद्यार्थी सुनिधि केसी भन्छिन् “होस्टलहरुको मेस बन्द भइसके, आफैले जोहो गरेर खानपिन चलिरहेको छ। परीक्षा आइसकेको बेलामा विधार्थीहरुलाई मानसिक तनाव त छदैछ तर घर फर्कने वातावरण छैन”।
प्रवासमा धेरै सङ्ख्यामा नेपालीहरू रहेका छन् उनीहरूलाई जनजागरणको आवश्यकता छ जसले गर्दा मानसिक रूपमै जहाँ छौ त्यहीँ बस्नु पर्छ भन्ने चेतना सिर्जना हुने अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठान भारतका संयोजक सन्दीप राना बताउँछन्।नेपाल भारत खुल्ला सिमाना त छँदै छ त्यसमा अत्यावश्यक सामाग्री नेपालले आयात गर्ने व्यवस्था गर्नु पर्छ साथमा आयात गर्दै गर्दा लैजाने व्यक्ति /गाडी वा सामाग्री राम्रोसँग चेक जाँच गर्नुपर्ने उनले थप बताए ।
अभानेस्ववियुका केन्द्रीय सदस्य सुधन महत भन्छन् “नेपाली दूतावास, नेपाल सरकार र भारत सरकारको पहल र समन्वयमा यो हतासपूर्ण परिस्थितिलाई तत्काल सम्बोधन गर्नुपर्ने देखिन्छ। भारतमा रहेका नेपालीहरू अत्यन्त निरीह मनोदशामा बाँचिरहेका छन्। सुरक्षा, स्वास्थ्य चेक-जाँच लगायत सबै प्रक्रिया पुर्याएर यहाँ रहेका नेपालीहरूलाई तत्काल नेपाल फर्कन सहजीकरण गर्ने कि तमाम पीडित नेपालीलाई भारतमै खान बस्नको प्रबन्ध गर्ने! सोच्नु पर्ने बेला आइसकेको छ।”
समग्रमा हेर्दा यहाँ भारतमा नेपालीहरूको स्थिति कहालीलाग्दो छ। भारत स्थित नेपाली दूतावासले नेपालीहरूको पिडा समाधानमा सक्रियता पूर्वक सन्तोषजनक हिसाबले लागिपरेको देखिँदैन। साथै नेपाल सरकारले पर्याप्त स्वास्थ्य पूर्वाधार निर्माण गरी भारतका हजारौँ नेपालीहरूलाई छिटो भन्दा छिटो कूटनीतिक पहल गरी नेपाल फर्काउने तयारी गर्नुको विकल्प देखिँदैन।