दिल्ली-काठमाडौं चल्ने बसमा यसरी हुन्छ तस्करी(भिडियो सहित)

काठमाडौं– दिल्लीबाट काठमाडौं चल्ने पर्यटक बसमा तस्करी हुने गरेको खुलेको छ। प्रहरीले तीन दिनमा दुई वटा बसलाई तस्करीको सामानसहित नियन्त्रणमा लिएको छ।
दिल्लीबाट काठमाडौं चल्ने ना६ख ६३०२ नम्बरको बसबाट बिहीबार बिहान प्रहरीले कुर्था सुरुवाल, प्रेसर कुकर, छालाको पर्स, बेल्टहरु बरामद गरेको छ। ती सबैको मूल्य ३० लाख रुपैयाँभन्दा धेरै पर्छ। प्रहरीले बसका चालक बारा निजगढ नगरपालिका–३ घर भएका ३४ वर्षीय रामबहादुर थोकरलाई पक्राउ गरेको छ।
उक्त बसले अवैध सामानहरु लुकाएर राजस्व छली नागढुंगा हुँदै काठमाडौं आउँदै गरेको सूचना प्राप्त भएपछि बुधबार प्रहरीले नागढुंगा चेकपोस्टमा जाँच गर्दा बसको हुड, बडीको तल-माथी तथा दायाँ-बायाँ फल्स बटम बनाई पोका-पोकामा लुकाएर राखेको अवस्थामा उक्त सामान फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।
यसअघि गत मंगलबार प्रहरीले दिल्ली–काठमाडौं चल्ने बसबाटै रक्तचन्दन तथा तस्करीका कपडा बरामद गरेको थियो। गाडीमा फल्स बटम बनाएर त्यहाँभित्र सामान लुकाउने गरिएको एसएसपी पोखरेलले बताए।
यसरी पर्यटक बसले सामान तस्करी गरेर ल्याउने गरेको पाइएपछि काठमाडौं-दिल्ली चल्ने सबैजसो बसमा प्रहरीले नियमित जाँच सुरु गरेको छ।नेपाल लाईभको सहयोगमा

