दिल्लीमा विद्यालय बन्द, कर्मचारीलाई घरबाट काम गर्न निर्देशन - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

दिल्लीमा विद्यालय बन्द, कर्मचारीलाई घरबाट काम गर्न निर्देशन



काठमाडौं- भारतको नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा बढ्दै गएपछि भारतको दिल्ली सरकारले अनलाइन कक्षा सञ्चालन गर्न उर्दी जारी गरेको छ।

भारतको सर्वोच्च अदालतले शनिबार केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न सुझाव दिएपछि बसेको सरकारको आपतकालीन बैठकले उक्त निर्णय गरेको हो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अर्को हप्तासम्म दिल्लीका विद्यालयहरु बन्द रहनेछन्। यस्तै, दिल्ली सरकारी कर्मचारीहरूले अर्को हप्तासम्म घरबाट काम गर्नेछन्।

साथै, सबै निर्माण कार्य बन्द गर्ने निर्देशन दिइएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस बैठकमा लकडाउन गर्ने कुरामा पनि विचार गरिएको बताए।

राज्य सरकारले यस सम्बन्धमा अदालतमा आफ्नो पक्ष प्रस्तुत गर्ने उनले जानकारी दिए।सर्वोच्च अदालतका प्रधानन्यायाधीशले दिल्लीमा बढ्दो प्रदूषणका सम्बन्धमा दायर गरेको याचिकामा सुनुवाइ गर्दै यसलाई तत्काल नियन्त्रणका लागि पहल गर्नुपर्ने बताएका थिए।

प्रधानन्यायाधीशले तत्काल वायू पदूषण नियन्त्रणका उपाय आवश्यक रहेको बताएका थिए। यदि आवश्यक परे २ दिन लकडाउन गर्न सुझाव पनि दिएका थिए।