दिल्ली र पंजावबीचको खेल विवादमा - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

दिल्ली र पंजावबीचको खेल विवादमा



काठमाडौं- इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पञ्जाव विरुद्धको खेल निकै रोमाञ्चक रह्यो खेल दिल्लीले सुपर ओभरमा आफ्नो पक्षमा पारेको थियो ।

तर यो खेल अहिले विवादमा परेको छ । क्रिकेटका जानकारहरूले यसलाई सामाजिक संजालमा विरोध गरिरहेका छन् भने कसैले भिडियो नै सेयर गर्दै यो ठुलो घटना भएको भन्दै लेखिरहेका छन् ।

खेलमा फिल्ड अम्पायर नितिन मेननले दिएको एक निर्णय अहिले विवादमा परेको छ । खेल १९ औं ओभरमा चलिरहेको थियो । ओभरको तेस्रो बलमा दिल्लीका कगिसो रवाडले फालेको योर्कर बललाई ब्याटिङमा रहेका पञ्जावका मायंक अग्रवालले कभर क्षेत्रमा प्रहार गरे ।

त्यसपछि उनी र क्रिस जोर्डन २ रनका लागि दौडिए तर अम्पायर मेननले रन लिने क्रममा क्रिस जोर्डनले लाइन नछाएको भन्दै सट रनको निर्णयद्वारा पञ्जावलाई १ रन मात्र दिएका थिए ।

मेननको यही निर्णयको अहिले विरोध भइरहेको छ । पछि भिडियो रिप्लेमा हेर्दा जोर्डनले लाइन छोएको देखिन्छ । अम्पायरको यही निर्णयका कारण पञ्जावले हार बेहोर्नु परेको भन्दै कतिपयले आक्रोस पोखी रहेका छन् ।

मेननको यो निर्णयप्रति पूर्व भारतीय क्रिकेटर विरेन्द्र सेहवाग, पञ्जावकी टिम मालिक प्रिती जिन्टा तथा विश्लेषक तथा पूर्व भारतीय क्रिकेटर आकाश चोपडा लगायतले सामाजिक सञ्जाल ट्विटरमा असन्तुष्टि जनाएका छन् ।

प्रिती जिन्टाले असन्तुिष्ट जनाउँदै ट्विट गरेकी छन् ‘अनेक झन्झट बेहोरेर युएई पुगेको खुसी अम्पायरको सट रनको गलत निर्णयले दुःखमा बदलिएको छ ।’

विश्लेषक तथा पूर्व भारतीय क्रिकेटर आकाश चोपडाले ट्विट गरेका छन् ‘अम्पायरले यस्तो निर्णय प्रविधिको सहयोगमा लिनु पर्नेथियो । यदि यही २ अंकका कारण पञ्जावले अन्तिम ४ मा स्थान बनाउन सकेन भने के हुन्छ ?’

पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सेहवागले व्यङ्गयात्मक शैलीमा ट्विट गरेका छन् ‘म म्यान अफ द म्याच छनोटप्रति सहमत छैन । आजको खेलमा जुन अम्पायरले सट रनको निर्णय गरेका थिए उनी नै म्यान अफ द म्याच हुनुपर्ने थियो । यो सट रन थिएन ।’