आज पञ्जाबबिरुद्ध सन्दीपले कमाल गर्ने तयारी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

आज पञ्जाबबिरुद्ध सन्दीपले कमाल गर्ने तयारी



काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा आज किङ्स–११ पन्जाबविरुद्ध खेल्दैैछ । आईपिएलको तेह्रौं तथा आफ्नो चौथो खेलमा दिल्ली किङ्स–११ पन्जाबविरुद्ध खेल्न लागेको हो ।

तेस्रो जितको खोजीमा रहेको दिल्लीले यसअघि कोलकता नाइट राइडर्समाथि सुपर ओभरमा रोमान्चक जित निकालेको थियो । त्यहि लयलाई निरन्तरता दिने योजनामा दिल्ली छ ।
उक्त खेलमा नेपाली युवास्टार सन्दीपले शानदार बलिङ गरेका थिए । सुरुआतका दुई खेलमा स्थान बनाउन नसकेका उनले तेस्रो खेलमा आफूलाई प्रमाणित गरेका थिए । ४ ओभर बलिङ गर्दै सन्दीपले २९ रन खर्चिएर १ विकेट लिए । सुबमन गिललाई रनआउट गरेका उनले निखिल नायकलाई एलबिडब्लु धरापमा पारेका थिए ।

दिल्लीले आज सन्दीपलाई पन्जाबविरुद्ध प्लेइङ–११ मा राख्नेबारे समर्थकमा चासो छ । पहिलो खेलमा गरेको प्रदर्शनका आधारमा कप्तान श्रेयस एैयरले उनलाई प्लेइङ–११ मा राख्ने सम्भावना बलियो छ ।

खेल पञ्जाबको घरेलु मैदान बिन्द्रा स्टेडियममा नेपाली समयअनुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ । २ खेलमा जित र १ मा हार ब्यहोरेको दिल्ली जितलाई निरन्तरता दिने लक्ष्यमा छ । समान खेलबाट २ मा जित र १ मा हार ब्यहोरेको पन्जाब तेस्रो जितको खोजीमा छ । ४ अंकसहित दिल्ली चौथो स्थानमा रहँदा समान अंक भएपनि किङ्स–११ पन्जाब रनरेटका आधारमा पाँचौं स्थानमा छ ।