आज भिड्दै दिल्ली र पंजाव, सन्दीपको सम्भावना के होला ? - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

आज भिड्दै दिल्ली र पंजाव, सन्दीपको सम्भावना के होला ?



काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करण अन्तर्गत दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले आज किङ्स इलाभेन पञ्जाबको सामना गर्दैछ। खेल साँझ ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सुरु हुनेछ।

यसअघि १२ औँ संस्करणमा क्वालिफायर खेलेको सन्दीपको टिम दिल्लीले तुलनात्मक रूपमा कमजोर किङ्सको सामना गर्न लागेको हो। अघिल्लो वर्ष दिल्लीले क्वालिफायरमा चेन्नई सुपर किङ्ससँग हार व्यहोरेको थियो।

दिल्लीले १४ खेलमध्ये ९ खेलमा जित हात पारेको थियो। त्यस्तै समान खेल खेलेको किङ्सले ६ खेल मात्र जितेको थियो। कोरोना महामारीका कारण मिति सर्दै आएको आईपीएल अन्ततः संयुक्त अरब इमिरेट्स (युएई) मा शनिबारबाट सुरु भएको हो।

सन्दीप प्लेइङ ११ मा पार्लान ?

दिल्लीको प्लेइङ ११ मा पर्न सन्दीपलाई कठिन हुने देखिएको छ। दिल्लीमा सन्दीपसँगै अन्य स्पीनरहरू अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेल रहेका कारण उनलाई प्लेइङ ११ मा पर्न मुश्किल रहेको भारतीय क्रिकेट पण्डितहरूले बताएका छन्।

नियमित लेग स्पीनर मिश्रा र अलराउन्डर पटेल हुँदाहुँदै दिल्लीले पछिल्लो समय टोलीमा बायाँ हाते अफ स्पिनर आश्विनलाई पनि भित्र्याउनु लामिछानेको लागि चुनौती बनेको ठानिएको छ। त्यस्तै राम्रो ब्याटिङ क्षमता भएका किङ्सका पूर्व कप्तान आश्विन दिल्लीको पहिलो रोजाइमा पर्नेछन्। साथै एकैपटक धेरै जना स्पीनरलाई कोचले राख्ने छैनन्। तर पिच स्पीनरमैत्री भएकाले धेरै जना स्पीनरलाई मैदान उतार्न सक्ने सम्भावना पनि रहेको छ।

लगातार तेस्रो पटक आईपीएल खेल्न लागेका सन्दीप भर्खरै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर दुबई पुगेका हुन्। उनले सीपीएलमा प्रदर्शन गरेको आधारमा पनि प्लेइङ ११ मा पर्ने सम्भावना छ। उनले जमैका तल्लावाजबाट ११ खेल खेल्दा १२ विकेट लिए। उनको ५.२७ इकोनोमी रहेको छ। यसकारण उनलाई कोचले मैदान उतार्न सक्ने सम्भावना रहेको छ।