जनताले पछारेपछि सानो हुँदा कस्तो हुन्छ हामीलाई थाहा छ: प्रचण्ड - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

जनताले पछारेपछि सानो हुँदा कस्तो हुन्छ हामीलाई थाहा छ: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब नभनिएको दिनमा पार्टी एकता हुने बताएका छन् । पार्टी एकता संयोजन समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
“अलिकति खचपच हुनुलाई पनि अविश्मरणीय परिघटनाका रुपमा लिनुपर्छ,” ब्यानरका सम्बन्धमा भएको विवादका बारेमा संकेत गर्दै उनले भने, “यसबाट शिक्षा लिनुपर्छ ।”
उनले पार्टी एकताको मिति तोक्ने बारेमा छलफल पनि भइरहेको बताए ।

“पार्टी घोषणाको अन्तिम तयारीमा छौं,” उनले भने, “अझ संकल्प दह्रो भएको छ । संकल्प लिएका छौं । केन्द्रीय कमिटी नयाँ बनाउने चरणमा छौं । हामी एक अर्कामा रुपान्तरण हुँदैछौं ।”

उनले नेपाली जनताले नै गो अहेड भनेकाले अब पछि फर्किने अवस्था नभएको बताए ।

“नेपाली जनताले विल्कुल ठिक गर्यौ, गो अहेड भने,” उनले भने, “जनताले हामीलाई भरोसा गरेर स्थिरता र विकासका लागि जसरी भनेका छन् । कतैबाट छुट छैन । अब यो जनताको सम्पत्ति भएको छ । अब मैले या केपीले दायाँबायाँ गरे पनि जनताले छुट दिँदैनन् ।”

उनले तोकेको समयमा एकता हुने बताउँदै नतोकेको दिनमा एकता हुने बताए । “सम्मानजनक ढंगले एकता गर्ने हो, विभेद र अपमानित हुनका लागि होइन,” उनले भने, “समानताको सिद्धान्त र आधारमा, न्यायोचित किसिमले पनि एकता गर्नुपर्ने हुन्छ । जुन दिन भनिएको छैन । त्यहीदिन ड्याम्मै एकता हुन्छ । भनिएको दिनमा हुँदैन । ह्रश्व र दीर्घ, कमा र फुलिष्टपमा झगडा गर्ने मान्छे हौं हामी ।”

उनले अहिले एमाले र माओवादीलाई भिडाउने प्रयास जारी रहेको बताउँदै त्यस्ताबाट बच्नुपर्ने धारणा राखे ।

“एमालेलाई सिध्दिन लागेको माओवादीसँग किन एकता गर्नुपर्यो ? भनेका छन्, हामीलाई परिवर्तनकारी शक्ति तिमीहरु हौ किन एमालेसँग एकता गर्नुपर्यो ? भनेका छन् । अहिले एमाले ठुलो छ । हामी अलिकति सानो छौं । साह्रै ठूलो हुन पनि ठिक रहेनछ । सबै हामीले बेहोरिसकेका छौं । हामी ०६४ मा ठूलो पार्टी भएका थियौं । जनताले पछारेपछि सानो हुँदा कस्तो हुन्छ भन्ने पनि हामीलाई थाहा छ ।”