भोलि देखि दशैंका लागि अग्रिम बुकिङ खुल्ला - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

भोलि देखि दशैंका लागि अग्रिम बुकिङ खुल्ला



काठमाडौं– यातायात व्यवसायीहरुले मंगलबार (भोलि) देखि दशैंका लागि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय गरेका छन् ।

सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएसँगै व्यवसायीहरुले दशैंका लागि मंगलबारदेखि अग्रिम बुकिङ खुल्ला गर्ने भएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले मंगलबारदेखि दशैंमा काठमाडौंबाट घर जाने यात्रुका लागि बसको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

बैठकले यातायात व्यवस्था विभागले शनिबार सार्वजनिक गरेको सार्वजनिक यातायातको १० प्रतिशत बढेको भाडा सोमबारदेखि नै लागु हुने गरी अनुमोदन समेत गरेको सिटौलाले बताए । सिटौलाले भने, ‘हामीले सोमबारदेखि नै बढेको भाडा लागु गर्ने निर्णय गरेका छौं भने दशैंका लागि मंगलबारदेखि अग्रिम बुकिङ खुल्ला गरेका छौं ।’

सरकारले दशैंपछि मात्रै भाडाको विषयमा कुरा गर्ने भने पनि व्यवसायीहरु आफ्नो अडानबाट पछि नहटेपछि भाडा बढाएको थियो । यसअघि गत ५ गतेदेखि अग्रिम टिकक बुकिङ खुल्ला गर्ने सहमति भए पनि पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि व्यवसायीले भाडा समेत बृद्धिको माग राखेका थिए ।