१० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न नपरोस्: प्रचण्ड - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

१० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न नपरोस्: प्रचण्ड



काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निरंकुशता’ विरुद्ध थप आन्दोलन चर्किने बताएका छन् ।

नेकपा दाहाल–नेपाल समूहको जनसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

‘तपाइँले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजिनामा दिनुस्, उनले भने, ‘तपाइँ जति निरंकुशतातर्फ जानुभयो त्यति विद्रोह चर्किन्छ ।’

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै आफूहरु जनताको शरणमा आएको बताए ।

उनले भने, ‘जनताप्रति हाम्रो ठूलो आस्था छ ।’

उनले ओलीको असंवैधानिक कदम विरुद्ध अब लाखौं जनता सडकमा आउने दाबी गरे ।

अध्यक्ष प्रचण्डले संवैधानिक निकायले विवेक प्रयोग गर्नेमा विश्वस्त रहेको बताउँदै भने, ‘केपीजीलाई हाम्रो अनुरोध छ, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ।’

उनले निर्वाचन आयोगलाई ‘काइते’ कुराको पछि नलाग्न समेत आग्रह गरे ।

उनले आफूहरु शान्तिपूर्ण राजनीतिमा रहेको बताउँदै कानूनी मान्यतमा दृढ रहेको बताए । उनले अदालतले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा फैसला गर्नेमा विश्वास व्यक्त गरे ।

‘राणाहरुले बनाएको संविधानदेखि अहिलसम्मका सबै संविधानबाट अनुभव लिएर यो जनहितमा जारी गरिएको संविधान हो,’ उनले भने, ‘असंवैधानिक कदम नसच्चिए कसैले थेग्न नसक्ने आँधी-हुरी आउँछ ।’

‘हिजो हामीले सानो विद्रोह गर्दा त्यस्तो अवस्था भयो भने अब झन कस्तो होला ?,’ उनले भने, ‘केपी ओली जस्तो निंकुश र एउटाको सनकका भरमा अदालतले फैसला गर्छ भन्ने हामीले पत्याउँछौं ?’

उनले ओली पक्षका मान्छेहरु लाम लागेर फर्किन लागेको समेत बताए । उनले भने, ‘दुई जना मन्त्रीसमेत फर्किने विषयमा मसँग कुरा भइरहेको छ ।’

ओलीले राम मन्दिर बनाउने लागेको कुरालाई लक्षित गर्दै यस विषयमा समेत चुनौती दिए ।

उनले भने, ‘म चुनौती दिन चाहान्छु, मन्दिर बनाउने हो भने अयोध्या भएको प्रमाणित गर्नुस्, अनुसन्धान गर्नुस् त्यसमा सबैभन्दा बढी खुशी मै हुन्छु । मेरो क्षेत्रमा यस्तो काम हुँदा म भन्दा अरु खुशी को होला ? ’

उनले ओलीको नाटक सबैभन्दा बढी यो तीन वर्षमा आफूले भोगेको बताए ।

उनले ५० औं वर्ष सँगै काम गरेकाहरुलाई अन्याय गरेर ओलीले ठूलो गल्ती गरेको बताए । उनले भने, ‘माधव र झलनाथलाई यस्तो अपमान किन ?’

उनले ओलीले बिहान माधव नेपाललाई बोलाएर प्रधानमन्त्री बनाउने, बेलुका वामदेवलाई बनाउने भन्ने कुराले उनको नाटकको पर्दाफास भएको बताए ।

पार्टी एकता गर्दा सबै वर्ग, क्षेत्र,समुदायलाई आत्मसम्मान दिनेछौं भनेर प्रतिबद्धता गरिएको भए पनि ओलीकै कारण यो अवस्था आएको उनले आरोप लगाए ।

युवाहरुलाई देशभित्र काम गर्ने वातावरण बनाउने प्रतिज्ञा गरिएको भए पनि यो अवस्थाको मुख्य कारण ओली नै भएको आरोप लगाए ।