थप १० विभाग घोषणा गर्दै देउवा
काठमाडौं- महाधिवेशनको मिति घोषणा भइसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा आक्रामक देखिएका छन् । विपक्षीलाई तर्साउने र आफू पुन: सभापति बन्न उनले अनेक तिगडम गर्दै आइरहेका छन् ।
विभाग गठन र त्यसलाई पूर्णता दिने काम भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तीव्र असन्तुष्टि जनाइरहेका बेला सभापति देउवा भने थप विभाग गठनको तयारीमा जुटेका छन्।
यसअघि २० विभाग गठन गरिसकेका देउवाले तत्काल थप केही विभागको संयोजक घोषणा गर्ने गरी आन्तरिक छलफल सुरु गरेका हुन्।
देउवाले मंगलबार बिहान आफूनिकट नेताहरूसँग गरेको छलफल अनुसार थप १० विभाग घोषणा गर्दैछन । केही दिनभित्रै कम्तीमा १० विभागको संयोजक घोषणा गर्ने तयारी गरेको देउवा निकट एक नेताले बताए । त्यसका लागि देउवाले आन्तरिक तयारी तिब्र पारेका छन् ।
यसअघि गठन गरिएका विभागलाई पूर्णता दिन नाम संकलनको कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।
कांग्रेसमा ४७ विभाग छन्। कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनामा विभाग गठन गरिसक्नुपर्ने भए पनि देउवा चार वर्षको अन्तमा यो कार्यमा जुटेका छन्।
पौडेल समूहले भने महाधिवेशनलाई प्रभावित पार्न देउवाले विभाग गठन गरेको भन्दै आपत्ति जनाउँदै आएका छन्। उनीहरूले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी दिनुका साथै अघिल्लो बिहीबार सभापति देउवालाई भेटेर लिखित ध्यानाकर्षण गराएका थिए।
देउवाले भने सहमतिमा विभाग गठन गर्न खोज्दा ढिलाइ भएको जिकिर गर्दै आएका छन्। विभागलाई पूर्णता दिन उनले पौडेललाई नाम दिन आग्रह गरेका छन्।