‘१० भाई’ नेताहरूका कारण राष्ट्रिय सभामा एमालेले हारेको ओलीको निष्कर्ष
काठमाडौं । एमालेले माधव नेपाल छोडेर आएका १० भाईकै कारण राष्ट्रिय सभामा अन्तर्घात हुँदा लज्जास्पद हार व्योहोर्नु परेको निष्कर्ष निकालेको छ । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही निकट नेताहरूलाई यो निष्कर्ष सुनाएका छन् ।
भर्खरै सम्पन्न भएको राष्ट्रिय सभाको उपचुनावमा एमालेले १९ सिटमध्य जम्मा १ सिटमा चित्त बुझाउनु परेको छ । सबै चाँजोपाँजो मिलाउँदा पनि हार बेहोर्नु परेपछि एमालेलाई ठुलो झट्का लागेको छ । त्यतिमात्रै होइन विभिन्न ठाउँमा एमालेकै प्रतिनिधिले अर्कैलाई भोट हालेर अन्तर्घात गरेपछि एमाले नेताहरूले मिलाएको चाँजोपाँजो नै फेल भएको छ ।
अन्तर्घात भएको विषयमा एमालेले छानबिन गर्ने बताएको थियो । तर छानबिन नगर्दै ओलीले भने केहि नेताहरूलाई निष्कर्ष सुनाएको स्रोतले बतायो । अध्यक्ष ओलीले माधव नेपाल छोडेर एमालेमा आत्मसमर्पण गरेका नेताहरूकै कारणले अन्तर्घात भएको र अबका दिनमा सचेत कदम चाल्नुपर्ने बताएका थिए ।
आफूनिकट केहि नेताहरूलाई राखेर ओलीले यस्तै गर्दै गएको खण्डमा उनीहरूमाथि निगरानी गर्नपर्ने बताएका थिए । १० बुँदे सम्झौताका नाममा ओलीसँग आत्मसमर्पण गर्न गएका नेताहरुले पार्टीका आन्तरिक सूचना र रणनीतिको चुहावट गरेका कारण राष्ट्रियसभामा पराजय भोग्नुपरेको निश्कर्ष ओलीले निकालेका छन् । एमाले परित्याग गरेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने नेताको संख्या बढ्दो छ ।
त्यतिमात्रै होइन ओलीले १० बुँदेहरुले आफ्ना मान्छेलाई अलिअलि गर्दै उक्त पार्टीमा प्रवेश गर्न प्रेरित गरिरहेको समेत बताएका थिए । उनले आफ्नो पकड भएको स्थानका कार्यकर्तालाई पनि माधव को पार्टीमा जान उक्साएको बताएका थिए । यस्तै हो भने त यिनका कोहि मान्छे पार्टीमा बस्दैनन् भन्दै ओलीले सचेत हुन समेत आग्रह गरेका थिए ।
अध्यक्ष ओलीले बालकोटमा निकटस्थहरुसँग केही दिनअघि भनेका छन्– ‘आखिर हिजो पनि हाम्राविरुद्ध यिनीहरुले गर्न बाँकी केही राखेनन् । फेरि पनि पार्टीमा भनेको काम र जिम्मेवारी नदिँदा यिनीहरु चूप लागेर बस्छन् भन्ने कुनै ग्यारेण्टी छैन । त्यसैले उनीबीच भित्री सल्लाह नगर्ने, बरु उनीहरुका गतिविधिको सूचना राखिराख्ने काम गरौँ ।’
राष्ट्रियसभा निर्वाचनका क्रममा प्रदेश १ को परिणामलाई प्रमाण मान्दै उनीहरुले १० बुँदेमाथि त्यस्तो निश्कर्ष निकालेका हुन् । उक्त प्रदेशमा खुलातर्फ उम्मेदवार रहेका गुरु बरालले पार्टीकै चार मत नपाउनु र महिला तर्फका उम्मेदवार सुमित्रा भण्डारीले निकै कम मत पाउनुलाई १० बुँदेहरुको धोकाधडीका रुपमा बालकोटले चित्रित गरेको छ । उनीहरुले भोजपुरका जनप्रतिनिधिहरुबाट धोका भएको ठहर गरेका छन् ।
उक्त जिल्लामा विगतमा माधव नेपालपक्षीय समानान्तर जिल्ला कमिटीको अध्यक्ष रहेका १० बुँदे पक्षधर शरणकुमार राई नै गत पुस २६ गते सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । त्यहाँ दुई नगरपालिकासहित सात गाउँपालिका छन् । त्यसमध्ये दुई गाउँपालिकाका प्रमुख र उपप्रमुख १० बुँदे पक्षधर हुन् ।
राष्ट्रियसभा निर्वाचनमा भोजपुरबाट भएको अन्तर्घातबारे छानवीन गर्न एमालेले प्रदेश अध्यक्ष तुलसी न्यौपानेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । उक्त समितिले प्रारम्भिक छानविनका क्रममा अध्यक्ष ओलीलाई मौखिक रुपमा केही विषयको जानकारी गराएको छ । सोही जानकारीका आधारमा ओलीले निकटस्थहरुलाई बालकोट बोलाएका हुन् । उक्त गोप्य भेटमा ओलीले भने– ‘चुनावहरु जति–जति ढिला हुँदै जान्छन्, यी १० बुँदेहरुले त्यति–त्यति चलखेल गर्दै जाने भए । त्यसैले चुनाव छिटो गराउन माग गर्नुपर्छ । जति ढिलो चुनाव भयो, उनीहरु त्यति–त्यति नै सल्बलाउने भए ।’
तर, ओलीका यी र यस्ता कुराले पार्टीमा झन्झन् क्षति पुग्ने सुझाव दुई उपमहासचिवले दिएका छन् । प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले भइरहेको क्षतिलाई नजरअन्दाज गर्दै बोलिएका बोलि र अपनाइएका तरिका ठीक नभएको सुझाव दिएको स्रोतले जनाएको छ ।