दाङमा आइतबारदेखि हवाईसेवा पुनः सञ्चालन - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

दाङमा आइतबारदेखि हवाईसेवा पुनः सञ्चालन



तुलसीपुर, दाङ – लामो समयदेखि अवरुद्ध भएको दाङको हवाईसेवा पुनः सञ्चालन हुने भएको छ।

आउँदो आइतबारदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान भर्ने सहमति जनाएपछि हवाईसेवा सञ्चालन हुने भएको हो।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र यस क्षेत्रका जनप्रतिनिधिको पहलमा अवरुद्ध हवाई सेवा सञ्चालनका लागि पहल गरिएको हो।

यसैबिच पुस २३ गते विमानसेवा सुरु गर्नका लागि टिकट बुकिङ पनि खुला गरिएको छ। अहिलेका लागि दाङमा तुलसीपुर उपमहानगरपालिकामा टिकट काटिने र तत्काल दाङका विभिन्न ठाउँमा एजेन्सीमार्फत टिकट बिक्री गर्ने काम सुरु हुने नगरप्रमुख पाण्डेले जानकारी दिए।

तत्कालका लागि दाङबाट काठमाडौँका लागि रु छ हजार ८०० देखि रु सात हजार २०० सम्म भाडा तोकिएको छ भने काठमाडौँबाट दाङका लागि रु सात हजार २०० भाडा निर्धारण गरिएको छ।

दाङमा टिकट बिक्री गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेललाई ९८५७८२२३७७ तथा काठमाडौँमा विष्णु दुलाललाई ९८०२०८००४० मा सम्पर्क गर्न सकिने बताइएको छ। रासस