दलित महिला बोक्सी आरोपमा कुटीइन
जनकपुर । दलित महिला बोक्सी आरोपमा पञ्चायतमै कुटिएकी छिन् भने एकलाख रुपैयाँ जरिवानामा परेकी छिन् ।
घटना धनौजी–२ को हो । ३८ वर्षीया मनतोरियाल देवी मण्डल खत्वेलाई कात्तिक ९ गते जातीय पञ्चले बोक्सी आरोपमा कुटपिट र जरिवाना गरेको घटना ढिला गरी बाहिर आएको हो । पञ्चभेलाले मनतोरियालाई बोक्सी स्वीकार गर्न लगाई ५० हजार रुपैयाँ र भोजस्वरुप ५० हजार खर्चसहित एकलाख जरिवाना गराएका हुन् ।
पीडितकी पति ईन्द्रजीत मण्डल खत्वे वैदेशिक रोजगारीका सिलसिलामा दुबइमा छन् । मनतोरियालाई जेठाजु इन्दल मण्डल खत्वेले बोक्सी भन्दै पूरै परिवार मिलेर आक्रमण गरेका हुन् । भाइबुहारी बोक्सी रहेको बताउँदै जातीय पञ्च बोलाएर पञ्चायतमै सार्वजनिक रुपमै मन्तोरियालाई निर्घात कुटपीट गर्दै बोक्सी स्वीकार्न गर्न लगाएका थिए ।
पञ्चायतमा खत्वे समाजका स्थानीय माईजन फुलगेन मण्डल, दुखी मण्डल, विरेन्द्र मण्डल लगायत जेठाजु समेतले लछारपछार गरेका थिए । मनतोरियाले जरिवाना तिर्दिनँ भन्दा कुटपिट गरी बेहोस बनाइएको बताइन् ।