दलहरु एकाएक सक्रिय: ४ दलको केन्द्रीय समिति बैठक आज - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

दलहरु एकाएक सक्रिय: ४ दलको केन्द्रीय समिति बैठक आज



काठमाडौं- संसद् विघटन भएसँगै चुपचाप जस्तो अवस्थामा बसेका नेपालका राजनीतिक दलहरु एकाएक सक्रिय भएका छन् ।

आइतबारदेखि आन्तरिक छलफलमा जुटेका दलहरुले आज केन्द्रीय समितिको बैठक डाकेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने चार दलको केन्द्रीय समितिको बैठक आज (मंगलबार) बस्दैछ ।

सत्तारुढ नेकपाको दुई पक्षले छुट्टा छुट्टै स्थान र समयमा केन्द्रीय कमिटीको बैठक डाकेको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक डाकेका छन् । बालुवाटारमा बस्ने बैठकमा संसद् विघटनपछि उत्पन्न परिस्थिति र पार्टीका अर्का पक्षका नेताहरुमाथि कारबाहीका विषयमा छलफल हुने भएको छ ।

यस्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले दिउँसो १ बजेका लागि केन्द्रीय कमिटीको बैठक डाकेको छ ।

बबरमहलको एक पार्टी प्यालेसमा बस्ने बैठकमा ओलीमाथि कारबाही गर्ने विषयमा छलफल केन्द्रीत हुने भएको छ ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि आजैका लागि केन्द्रीय कमिटीको बैठक डाकेको छ ।

बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा संसद् विघटन र त्यसपछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने भएको छ । कांग्रेसले संसद् विघटनलाई असंवैधानिक कदम भन्दै त्यसको विरोध जनाउँदै आएको छ ।

यस्तै संसद्मा प्रतिनिधित्व गर्ने तेस्रो ठूलो दल जनता समाजवादी पार्टी नेपालले पनि आजैका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मध्यान्ह १२ बजेका लागि डाकिएको बैठकमा ओलीको कदमका विषया छलफल हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि केन्द्रीय सम्पादन समितिको बैठक पनि आजै बस्दै छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने बैठकमा संसद् विघटन र त्यसपछि उत्पन्न परिस्थितिको समिक्षा हुने भएको छ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद् भंग भएपछि दलहरु आफ्नो धारणा बनाउन सक्रिय भएका हुन् ।