प्रचण्डले ओलीलाई भने: दरिद्र चरित्र भएको दलालको एजेण्ट - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

प्रचण्डले ओलीलाई भने: दरिद्र चरित्र भएको दलालको एजेण्ट



काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले दरिद्र राजनीतिक चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्। आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भनेर ओलीले गरेको टिप्पणी प्रमाणित गरेर देखाउनसमेत उनले चुनौती दिएका छन्।

‘प्रचण्ड’ ले केपी शर्मा ओलीले दरिद्र राजनीतिक चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्। आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भनेर ओलीले गरेको टिप्पणी प्रमाणित गरेर देखाउनसमेत उनले चुनौती दिएका हुन्।

‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनीतिक चरित्र मात्र प्रदर्शन गरेका छन्। म के. पी. ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।’, उनले प्रेस वक्तव्य जारी गर्दै भनेका छन्।

प्रचण्डले दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष ओली, झुट, बेइमानी र धोकाको अर्को नाम भएको आरोपसमेत लगाएका छन्।

‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्।’, उनले भनेका छन्।

प्रचण्डले ओलीलाई संकेत गर्दै दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुनसमेत सबै शेयर होल्डरलाई आग्रह गरेका छन्। ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु। आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु। दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु।’, उनले वक्तव्यमा भनेका छन्।

गत बुधबार केन्द्रीय कमिटीमा मनोनित सदस्यको सपथग्रहण कार्यक्रममा ओलीले प्रचण्ड र ज्ञानेन्द्रबीच गोप्यरुपमा पाँच बुँदे सहमति भएको र सेयर कारबार गर्नेले चन्दा नदिएपछि सेयर बजारबारे नकारात्मक टिप्पणी प्रचण्डले गरेको आरोप लगाएका थिए।