विज्ञहरूले गरे, कोरोना संक्रमितको संख्या दैनिक २५ हजार नाघ्ने आंकलन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

विज्ञहरूले गरे, कोरोना संक्रमितको संख्या दैनिक २५ हजार नाघ्ने आंकलन



स्वास्थ्य अधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड १९ संक्रमितको संख्या दिनक २५ हजार नाघ्न सक्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यही गतिमा कोरोना संक्रमितको संख्यामा वृद्धि भए माघको दोस्रो सातामा दैनिक २५ हजार भन्दा बढी संक्रमित हुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

‘कोभिड १९ को संक्रमण दैनिक २५ हजार भन्दा बढी पुग्न सक्ने भन्दै विज्ञहरूले प्रधानमन्त्री देउवालाई सचेत गराउनुभएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले हिमालपोस्टलाई भन्यो, ‘तर ओमीक्रोन भेरियन्ट यसअघिका अन्य भेरियन्ट भन्दा कम घातक भएकाले त्यसको सहजै व्यवस्थापन पनि हुन सक्छ । सरकारले आफ्नो तर्फबाट सकेको गरिरहेको छ ।’

विगत केही दिनयता नेपालमा कोभिड १९ को संक्रमण व्हात्तै बढेको छ । आइतवार देशभर जम्मा ४ हजार ५ सय ३४ संक्रमित थपिएका थिए भने शनिवार ३ हजार ७ सय ३ थपिएका थिए ।

विगत एक साताको रेकर्ड हेर्दा प्रतिदिन औसतमा ३ हजार भन्दा माथि संक्रमित भएका छन् । कोभिड १९ को संक्रमण बढेसँगै अस्पतालहरूमा बेडको आभाव देखिएको छ ।

राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड १९ संक्रमणलाई कम गर्न राज्यले सबै उपाय अपनाएको बताए । उनले भने, ‘नयाँ भेरियन्ट कम घातक छ भनेर सरकार चुप लागेको छैन । प्रधानमन्त्रीले जसरी हुन्छ यसलाई नियन्त्रणमा लिन निर्देशन दिनुभएको छ ।’

यसअघि कोभिड १९ को दोस्रो लहरमा नेपालमा दैनिक संक्रमितको संख्या ९ हजार नाघेको थियो । त्यसपछि संक्रमण कम हुँदै गएको थियो ।