पूर्व प्रधानमन्त्री दाहालको वैवाहिक वर्षगाँठमा नातिनीले गरिन असहायलाई सहयोग - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

पूर्व प्रधानमन्त्री दाहालको वैवाहिक वर्षगाँठमा नातिनीले गरिन असहायलाई सहयोग



कैलाली । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको ५१ औं वैवाहिक वर्षगाँठको अवसरमा नातिनी तथा चर्चित गायिका स्मिता दाहालले मानसिक रोगीहरूलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाइ सहयोग गरेकी छिन् ।

गायिका स्मिता दाहालले कैलालीका पत्रकार प्रकाश मिश्र मार्फत शुक्रवार हजुरबुवाको वैवाहिक वर्षगाँठको अवसर पारेर सहारा घरलाई रु एकाउन्न हजार बराबरको लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेकी हुन् । सहारा घरलाइ सहयोग सामाग्री हस्तान्तरण गर्दै पत्रकार मिश्रले सहयोगी भावनाकी धनी गायिका स्मितालाई धन्यवाद दिए ।

केही समय पहिले एक साङ्गीतिक कार्यक्रममा कैलाली आउँदा कुनै दिन समय मिलाएर सहारा घरलाई सहयोग गर्ने प्रतिबद्धता गरेर गएकी गायिका दाहालले हजुरबुवाको वैवाहिक वर्षगाँठको अवसर पारेर पठाउनु भएको सहयोग प्रदान गर्न पाउँदा खुसी लागेको पत्रकार मिश्रले बताए ।

विभिन्न ठाउँका सडकबाट ल्याइएका ७३ जना मानसिक रोगीहरूलाई आश्रय प्रदान गर्दै आएका सहारा घरका सञ्चालक बलबहादुर विष्टले गर्मीको समयमा लगाउन मिल्ने टाउजर,टिसर्ट तथा खाद्यान्नमा दाल,चामल,तेल,नुन, भटमास प्रदान गर्नुभएकोमा गायिका स्मिता दाहाललाई धन्यवाद व्यक्त गरेका छन् । विष्टले विभिन्न ठाउँका सडकबाट ल्याइएका ८३ जना मानसिक रोगीहरूलाई विना औषधि निको पारेर परिवार मिलान गरिएको समेत जानकारी दिए ।