करेन्ट लागेर एकजनाको मृत्यु , दुईजना घाइते - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

करेन्ट लागेर एकजनाको मृत्यु , दुईजना घाइते



नुवाकोट। जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सो घटनामा अन्य दुई घाइते भएका छन् ।

आज बिहान साढे ६ बजे बिजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस भएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीलाई उपचारका लागि विदुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही करेन्टमा परेर लिखु–१ शान्ति बजारकै ५५ वर्षीय लालप्रसाद लामिछाने र आफन्तको घरमा आएकी बेलकोटगढी नपा–१२ मदानपुरकी १९ वर्षीया सदीक्षा पौडेल घाइते भएका छन् । उनीहरूलाई विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

गए राति बाढीले जमीन कटान गरेकाले खोला छेउमा गाडिएको ३३ केबी प्रसारण लाइनको पोल मानिस हिँड्ने बाटोतर्फ ढल्किएर लत्रिएको सोही वडाका वडाध्यक्ष नरहरि पाण्डेले बताए ।सुरक्षित स्थानमा पोल नगाडिएको कारण यो दुर्घटना भएको उनको भनाइ थियो । (रासस)