इतिहास रच्ने दाउँ र साख जोगाउने चुनौति बिचको आजको खेल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

इतिहास रच्ने दाउँ र साख जोगाउने चुनौति बिचको आजको खेल



एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायर खेलमा आज साँझ दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समय अनुसार साँझ ७ः४५ बजे हैदरावादको वैकल्पिक घरेलु मैदान विशाखापट्नममा सुरु हुने खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ ।

पहिलो क्वालिफायरमा चेन्नईलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगि सकेको छ । फाइनल आईतबार हैदरावादको राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने छ । उक्त फाइनलको लागि दुई मिनेटमै पुरै टिकट विक्री भइसकेको बताइएको छ । लिग चरणका दुवै खेलमा दिल्ली चेन्नईसँग पराजित भएको थियो ।

दिल्ली आजको खेलमा विजयी भए पहिलो पटक आइपिएलको फाइनलमा पुग्ने छ । यो पटक दिल्लीलाई उपाधि दाबेदारका रुपमा समेत हेरिएको छ । अहिले सम्म सात पटक आइपिएलको फाइनल पुगेको चेन्नईले आफ्नो साख बचाउन हर सम्भव प्रयास गर्नेछ । लिग चरणको नतिजाले चेन्नईको आत्मविश्वास बलियो छ ।

लिग चरणमा दिल्ली १४ खेलमा ९ मा जित र ५ हारका साथ तेस्रो स्थानमा रहँदै एलिमिनेटेर खेल्नु परेको थियो । एलिमिनेटेरमा खेलमा हैदरावादलाई २ विकेटले हराउँदै दिल्लीले क्वालिफायरमा चेन्नईसँगको भेट पक्का गरेको हो । समान खेल र नतिजाका साथ दोस्रो स्थानमा रहेको चेन्नई यस अघि पहिलो क्वालिफायरमा मुम्बईसँग ६ विकेटले पराजित हुँदा सोझैं फाईनलमा पुग्ने अवसरबाट बञ्चित भएको थियो ।

आजको पराजित हुने टोली यसपटकको उपाधि यात्राबाट बाहिरिनेछ । श्रेयस ऐर,ऋषभ पन्त,शिखर धवन,ईशान्त शर्मा,पृथ्वी शा,अमित मिश्रा,टेन्ट बोल्टको प्रर्दशन दिल्लीको नतिजा निर्णायक हुने देखिन्छ । नेपाली युवा स्पिनर सन्दीप लामिछाने पनि यहि टोलीमा छन् । जारी आईपीएलमा दिल्लीको मिडिल अडर र फिनिसिङ ब्याटिङ भने कमजोर रहँदै आएको छ । यी दुई कमजोरीनै दिल्लीको अघिल्लो चरण कठिन पनि बन्न सक्छ ।

चेन्नईको टोली सन्तुलित छ । तर चेन्नईको तीब्र गतिको बलिङ कमजोर मानिन्छ । महेन्द्रसिंह धोनीको उत्कृष्ट कप्तानी र प्रर्दशनमा क्वालिफायर सम्म पुग्न सफल भएको चेन्नई आजको खेलमा पनि उनकै प्रर्दशन महत्वपूर्ण हुने छ । दुई ठूला हिटर धोनी र ऋषभ पन्त एक आपसमा भिड्ने हुँदा आजको खेल थप रोमान्चक हुने अनुमान गरिएको छ । पन्तलाई भारतीय टोलीमा धोनीको उत्तराधिकारी मानिएको छ ।

धोनी,फाफ डु प्लेसिस,हरभजन सिंह,रविन्द्र जडेजा,इमरान ताहिर,सुरेश रैना,ड्वेन ब्राभो चेन्नईका मुख्य हतियार हुन् । चेन्नई अनुभवी र दिल्ली युवा खेलाडीको टोलीका रुपमा परिचित छ ।