क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जना काठमाडौंबाट पक्राउ - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जना काठमाडौंबाट पक्राउ



केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) ले क्रिप्टोकरेन्सीको कारोबार गर्ने थप तीन जनलाई प्रकाउ गरेको छ । काठमाडौं उपत्यकामा केही व्यक्तिहरू क्रिप्टोकरेन्सीको वित्तीय कारोबारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई प्रकाउ गरिएको सीआईबीले जनाएको छ ।

नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरू बिटक्वाइन, यूएसडीटी, सोलानालगातयका विभिन्न करेन्सीहरूको अवैध कारोबारमा सक्रिय रहेका भन्दै अनुप मिश्र, दिपेश थापा, राहुल चचानसमेतका व्यक्तिहरूलाई प्रकाउ गरिएको सीआईबीले जनाएको छ ।

४ र ५ वैशाखमा काठमाडौंको महाबौद्ध, न्युरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न उनीहरूले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसहित पक्राउ गरी अनुसन्धान गर्दा निजहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको सीआईबीले जानकारी दिएको छ ।

उनीहरूलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको सीआईबीले जनाएको छ ।

यस्ता छन् अनुसन्धानबाट खुलेका विवरणः

पक्राउ परेका व्यक्तिहरूमध्ये अनुप मिश्रले सन् २०२१ मे देखि हालसम्म BINANCE अकाउन्ट प्रयोग गरी यूएसडीटी, ईटीएच, एसएचआईबी, एडीए, भीईटीलगायतका २० वटा क्रिप्टोकरेन्सीहरू नेपाली रुपैयाँ ३५ करोड ४६ लाख ८३ हजार बराबरको कारोबार गरेको देखिएको छ ।

उनीसँग ब्यालेन्स अकाउन्टमा १२ हजार ८ सय ३२ डलर बराबरको ०.३१७३६९१९ बिट क्वाइन मौज्दात रहेको देखिएको पनि सीआईबीले जनाएको छ ।

दिपेश थापाले सन् २०२१ मे देखि हालसम्म दुई वटा अकाउन्टमार्फत् ७ वटा क्रिप्टोकरेन्सीहरू २४ करोड ७९ लाख ५६ हजार बराबरको कारोबार गरेको र अहिले उनीसँग १ हजार ३९९ अमेरिकी डलर बराबरको ०.०३६०१३९२ बिट क्वाइन मौज्दात रहेको सीआईबीको अनुसन्धानमा देखिएको छ ।

पक्राउ परेका राहुल चचानले करिब १ वर्ष अघिदेखि हालसम्म २० वटा क्रिप्टोकरेन्सीहरू जम्मा नेपाली ६ करोड ५३ लाख ३९ हजार ४३९ बराबरको कारोबार गरेको देखिएको छ । हाल उनीसँग अकाउन्टमा ६५१ डलर बराबरको बिट क्वाइन मौज्दात रहेको देखिएको सीआईबीले जनाएको छ ।

उनीहरूले दैनिक ५ हजारदेखि ५० हजारसम्म यूएसडीटीको कारोबार गर्ने गरेको सीआईबीले जनाएको छ ।