इंग्ल्याण्ड बन्यो विश्वविजेता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इंग्ल्याण्ड बन्यो विश्वविजेता



सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ ।

सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गर्दा न्युजिल्यान्डका मार्टिन गुप्टिल र जेमी निशम ब्याटिङमा आएका थिए । आर्चरले पहिलो बलमा वाइड फ्याँके र लगत्तै निशमले २ रन जोडे । दोस्रो बलमा निशमले छक्का प्रहार गरे । तेस्रो बलमा निशमले २ रन जोडे । चौथो बलमा २ रन लिएका निशमले पाँचौ बलमा १ रन लिए । अन्तिम बलमा गुप्टिलले दोस्रो रन जोड्ने क्रममा रनआउट भएपछि इंग्ल्यान्डले समान स्कोर भएपनि पराजित भएको हो ।

सुपर ओभरमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गर्दा बेन स्टोक्सले पहिलो बलमा ३ रन लिए । दोस्रो बलमा जस बटलरले १ रन जोडे । तेस्रो बलमा स्टोक्सले चौका प्रहार गरे । चौथो बलमा १ रन लिएपछि बटलरले पाँचौ बलमा २ रन लिए । अन्तिम बलमा बटलरले चौका प्रहार गरेपछि न्युजिल्यान्डले जितका लागि १६ रनको लक्ष्य पाएको थियो ।

त्यसअघि जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । इंग्ल्यान्ड ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन जोड्यो ।

अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा ट्रेन्ट बोल्टले सुरुवाती २ बल डट गरे । त्यसपछि बेन स्टोक्सले तेस्रो बलमा छक्का र चौथो बलमा २ रन लिँदा ओभर थ्रोमा ४ रन जोडीपछि अन्तिम २ बलमा ३ रन आवश्यक परेको थियो । पाँचौ बलमा दोस्रो रन लिने क्रममा आदील रशिद रन आउट भए । इंग्ल्यान्डको लागि बेन स्टोक्स ९८ बलमा ५ चौका र २ छक्का सहित ८४ रनमा अविजित रहे ।

पाँचौ ओभरको छैटौं बलमा म्याट हेनरीले कट विहानइ्ड निकाल्दै विकेटकीपर टम लेथमबाट ओपनर जोसन रोयलाई १७ रनमा पेभिलिएन फर्काए । रोयले २० बलमा ३ चौका प्रहार गरे । १७ ओभरको तेस्रो बलमा कोलिन डी ग्राण्डहोमले जो रुटलाई ७ रनमा क्याच आउट गराए । २० ओभरको तेस्रो बलमा लोकी फर्गुसनले ओपनर जोनी बयरस्टोलाई ५५ बलमा ७ चौका सहित ३६ रनमा बोल्ड आउट गरे । २४ ओभरको पहिलो बलमा जेम्श निशमले उत्कृष्ट क्याच गर्दै कप्तान इओन मोर्गनलाई ९ रनमा पेभिलिएन फर्कापछि इंग्ल्यान्ड दबाबमा परेको थियो ।

पाँचौ विकेटका लागि जस बटलर र बेन स्टोक्सले १ सय १० रनको उत्कृष्ट साझेदारी गर्दै जितको आसा देखाएका थिए । यी दुईबीचको साझेदारी ४५ ओभरको पाँचौ बलमा लोकी फर्गुसनले बटलरलाई टिम साउदीबाट ५९ रनमा क्याच आउट गराउदै तोडे । बटलरले ६० बलमा ६ चौका प्रहार गरे । क्रिस वोक्स २ रनमा क्याच आउट भए ।लियाम प्लान्केटले १० रन जोडे ।

त्यसअघि लर्डसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । न्युजिल्यान्डका लागि ओपनर हनेरी निकोलसले सर्वाधिक ५५ रन जोडे । २७ ओभरको पाँचौ बलमा लियाम प्लान्केटले बोल्ड आउट गर्नुअघि हेनरीले ७७ बलमा ४ चौका प्रहार गरे ।

हेनरीले दोस्रो विकेटका लागि कप्तान केन विलियमसनसँग ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कप्तान विलियमसनलाई २३ ओभरको चौथो बलमा प्यान्केटलेनै विकेटकीपर जस बटलरबाट ५३ बलमा २ चौका सहित ३० रनमा क्याच आउट गराए ।

न्युजिल्यान्डले ओपनर मार्टिन गुप्टिललाई १९ रनमा गुमाएको थियो । सातौ ओभरको दोस्रो बलमा क्रिस वोक्सले एलवी डब्लू आउट गर्नु अघि गुप्टिलले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्क उडले अनुभवी ब्याट्सम्यान रोश टेलरलाई १५ रनमा एलबी डब्लू आउट गराए । ३९ औं ओभरको अन्तिम बलमा ठूलो सर्ट खेल्ने धुनमा जेम्श निशम जो रुटबाट १९ रनमा क्याच आउट भएपछि न्युजिल्यान्डको विशाल योगफलको संभावना सकिएको थियो ।

तल्लोक्रममा विकेटकीपर टम लेथमले ५६ बलमा २ चौका र १ छक्का सहित ४७ रन जोडेपछि न्युजिल्यान्ड प्रतिस्पर्धात्मक योगफल सम्म पुगेकोे हो । त्यस्तै कोलिन डी ग्राण्डहोमले १६ रनमा क्याच आउट भए । मिचेल सान्टनारले ५ रन जोडे ।

इंग्ल्यान्डका लागि लियाम प्लान्केटले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चर र मार्क उडको नाममा समान १ विकेट रह्यो ।