भारतीय क्रिकेटमा लफडा ,बिराटलाई कप्तानीबाट हटाउनुपर्ने माग - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

भारतीय क्रिकेटमा लफडा ,बिराटलाई कप्तानीबाट हटाउनुपर्ने माग



भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सुनील गावस्करले विश्वकपपछि पनि विराट कोहलीलाई कप्तान बनाइराख्ने फैसलाप्रति प्रश्न चिह्न उठाएका छन् । उनले तीन फरक फम्र्याटमा फरक फरक कप्तान हुनुपर्ने बताएका छन् ।

उनले कोहलीलाई कप्तानमा निरन्तरता दिने विषयमा एकपटक बैठक हुनुपर्ने धारणा व्यक्त गरेका छन् । कोहलीको नेतृत्वमा भारतीय टोली ३ अगष्टदेखि ३ सेप्टेम्बरसम्म वेस्टइन्डिज भ्रमणमा रहनेछ । यो क्रममा भारतीय टोलीले ३ टी–२०, ३ वानडे र २ टेस्ट खेल्नेछ ।

गावस्करले चयन समितिमा बसेका मानिस कठपुतली भएको बताए । कोहलीलाई बैठकमा आफ्नो टोलीको विषयमा धारणा राख्नका लागि भनिएको थियो । प्रक्रियालाई वेवास्ता गरेर दिनेश कार्तिकलाई खराब प्रदर्शनको कारण टोलीबाट हटाइएको सन्देश दिइएको थियो । जबकी विश्वकपसम्म कप्तानले उनीमाथि भरोशा राखेका थिए ।

‘रोहितसँग मनमुटाव छैन’
यसैबीच विराट कोहलीले रोहित शर्मासँग मनमुटाव र विवादको समाचार गलत रहेको बताएका छन् । उनले सोमवार वेस्ट इन्डिज भ्रमणमा जानुअघि प्रशिक्षक रवि शास्त्रीसँगको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । यदि टोलीका कुनै सदस्यलाई आफूले मन नपराउने तथा कुनै विवाद हुने गरेको भए त्यस किसिमको विवाद टोलीमा स्पष्ट देखिने उनको भनाइ छ । उनले रोहित शर्मा राम्रो खेलाडी रहेको भन्दै सधैं उनको प्रशंसा गर्दै आएको पनि बताए ।

कथा यस्तो
विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डसँग हारेसँगै भारतको विषयमा विभिन्न किसिमको समाचार आइरहेका छन् । विश्वकपमा कोहली र रवि शास्त्रीको फैसलाबाट केही खेलाडी असन्तुष्ट देखिएका थिए । यसै बीच सेमिफाइनलमा हारेसँगै रोहित शर्माको पक्षका खेलाडीले कोहलीलाई कप्तानीबाट हटाउनुपर्ने माग गरेका थिए ।

सेममिफाइनलमा मोहम्मद शमीलाई अन्तिम ११ मा नराखिएको विषयमा टोलीमा विवाद बढेको हो । त्यसका साथै विश्वकपको अन्य खेलमा रवीन्द्र जडेजालाई वेवास्ता गरिएको विषयले पनि कोहलीको फैसलामाथि प्रश्न उठेको हो ।

विश्वकपपछि वेस्ट इन्डिजको भ्रमणमा विराट कोहलीले केही समय आराम लिनसक्ने बताइएको थियो । वेस्ट इन्डिजको भ्रमणमा रोहित शर्मालाई कप्तानी दिइनसक्ने बताइएको थियो । तर, आफ्नो कप्तानी नै संकटमा पर्ने देखिएसँगै विराटले आराम नलिई वेस्ट इन्डिज भ्रमणमा जाने निर्णय गरेका हुन् ।

विश्वकपको सेमिफाइनलमा शमीको सट्टामा रवीन्द्र जडेजालाई टोलीमा मौका दिइएको थियो । न्युजिल्याण्डसँगको खेलमा हारको सामना गरेसँगै यो विवाद स्पष्टरुपमा देखिएको थियो । हारेपछि सबैभन्दा पहिला रोहित शर्मा आफ्नो परिवारसँगै मुम्बई फर्किएका थिए ।

रोहित शर्माले विराट कोहलीकी पत्नी अनुष्का शर्मालाई इन्स्टाग्रामको अकाउन्टबाट अनफलो गरेका छन् । यसअघि नै रोहितले विराटलाई अनफलो गरेका थिए । यस विषयमा अनुष्काले जवाफ पनि दिएकी छिन् ।