नेपालद्वारा मलेसियामाथि ३४ रनको जित - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नेपालद्वारा मलेसियामाथि ३४ रनको जित



एजेन्सी : थाइल्यान्डमा जारी आईसीसी वुमन्स क्वालिफायर एसिया अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियामाथि ३४ रनको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ५ विकेट गुमाइ १२६ रन बनाएको थियो ।

१२७ रनको लक्ष्य पछ्याएको मलेसियाको महिला टोलीले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनायो । नेपालका लागि सरिता मगर र करुणा भण्डारीले मलेसियाको २–२ विकेट लिए । त्यसैगरी करूणा कुँवर र सीता राना मगरले १-१ विकेट लिए ।

ब्याटिङमा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि काजल श्रेष्ठले र सीता रानामगरले ४६ रनको साझेदारी गरेका थिए । नेपालका लागि सीता राना मगरले सर्वाधिक ४२ रन बनाइन ४० बल खेलेकी उनले २ चौकासमेत प्रहार गरिन । कप्तान रुबिना क्षेत्रीले २५ बलमा ३३ रन बनाइन भने काजल श्रेष्ठले १६ रनको योगदान गरिन ।

प्रतियोगितामा एसियाका एसोसिएटतर्फका शीर्ष सात टोलीको सहभागीता रहेको छ । नेपाल सहित थाइल्याण्ड, युएई, हङकङ, कुवेत, मलेसिया र चीन प्रतियोगितामा छन् ।

२० ओभरको यो प्रतियोगितालाई आईसीसीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने महिला टीट्वेन्टी विश्वकप र सन् २०२१ मा न्युजिल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप दुवैको एसियाली छनोट प्रतियोगिताका रूपमा लिएको छ।

सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने छनोट प्रतियोगितामार्फत शीर्ष स्थानमा रहने एक टोली मात्रै यी दुवै विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा पुग्नेछन्।