सिपिएल: सन्दीपको सानदार खेल - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

सिपिएल: सन्दीपको सानदार खेल



काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा बलर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन्।

शुक्रबार सन्दीपले सेन्ट किट्स नेभिट् प्याट्रिओट्बाट खेल्दै सिपिएलमा डेब्यू गरेका हुन्। यद्यपी सन्दीपको डेब्यू खेलमा सेन्ट किट्सलाई गुयना अमाजोन वारियर्सले ६ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ विकेटको क्षतिमा १ सय ४६ रन जोडेको थियो। उसका लागि कप्तान क्रिस गेलले ८६ रन जोडे। ५ विकेट मात्र गएपछि सन्दीपले ब्याटिङ गर्न भने पाएनन्।

१ सय ४७ रनको लक्ष्य पछ्याएको गुयानविरुद्ध सन्दीपले ४ ओभर बलिङ गरे। जसमा उनले २ विकेट लिन सफल भए। दोस्रो ओभरमै बलिङ पाएका सन्दीपले ओपनर चाडविक बाल्टनलाई क्याच आउट गराए। सन्दीपले गुयानाको चौथो विकेटको रुपमा जासन मोहमदलाई आउट गरे।

उनी सेन्ट किट्सका लागि सबैभन्दा किफायती बलर भए। उनले ४ ओभरमा १२ रन मात्र खर्चिए।

सन्दीपले राम्रो बलिङ गरेपनि गुयानले २१ बल बाँकी छदा लक्ष्य पार गर्दै सेन्ट किट्सलाई ६ विकेटले हराउन सफल भयो।