केपी ओली राष्ट्रवादी होईनन: सीपी गजुरेल
काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुको कारण आफूलाई भारत निकट नै भएको आश्वस्त पार्न भएको आरोप लगाएका छन् ।
मंगलबार चार वटा कम्युनिष्ट पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीले राष्ट्रवादको वकालत गर्दै आएपनि ओली सच्चा राष्ट्रवादी नेता नभएको आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै नेता गजुरेलले भने,‘ओली भारत जानुको कारण म पुनः मोदी क्याम्पमा फर्किसकेको छु भन्ने सन्देश दिन हो, ओली अब नाकाबन्दीको ओली होइन ।’
‘भारतसँग असमान सन्धी सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा (विप्लब) र (नेकपा ऋषि कट्टल समूह) का नेताहरुले यस्तो बताएका हुन् ।
उनले अरुण तेस्रो दिल्ली मै बसेर उद्घाटन गर्ने भनिएपनि अन्तिम समयमा किन भएन भन्ने रहस्यमय भएको भन्दै ‘यदि दिल्लीमा ओलीले सो आयोजनाको उद्घाटन गरेको भए उनको राष्ट्रबाद दिल्लीमा नै छताछुल्ल हुने थियो’, भने ।
त्यस्तै नेकपाका जनसरकार प्रमुख सन्तोष बूढा मगरले प्रचण्डलगायतका नेताहरु जनयुद्धदेखिनै भारतको इशारामा चलेको आरोप लगाएका थिए ।
यस्तै नेकपाका ऋषि कट्टेलले कम्युष्टिलाई साम्राज्यवादीहरुले राष्ट्रघाती काम गर्न उक्साउने गरेको भन्दै त्यसप्रति सचेत बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षत्री, सीमा बिज्ञ बुद्धिनारायण श्रेष्ठ, परराष्ट्र बिज्ञ हिरण्यलाल श्रेष्ठ, जलस्रोत विज्ञ दीपक बोहरा लगायतको समेत सहभागिता रहेको थियो ।