के नेपालमा देखिएको कोभिड फरक छ ? युवाहरू किन बढी प्रभावित ?
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोभिडका कारण हालसम्म मृत्यु हुने संख्याको आधाभन्दा बढी युवा छन् । तथ्यांकअनुसार मृत्यु हुने ५० वर्षमुनिका ३७ जना अर्थात् ५० प्रतिशतभन्दा बढी छ ।
विश्व स्वास्थ्य संगठनले छुट्याएको युवा उमेर समूह अर्थात् १८ देखि ४५ वर्ष उमेरका २८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुने संख्याको आधारमा युवा मृत्युदर लगभग ३८ प्रतिशत छ, जुन तुलनात्मक हिसाबमा सबैभन्दा बढी हो । आर्थिक र सामाजिक दृष्टिकोणले चलायमान रहने यो उमेर समूह कोभिडका कारण सबैभन्दा बढी प्रभावित भएको पाइन्छ ।
कोरोना महामारी फैलिएपछि विश्वभरिको सम्पूर्ण तथ्यांक सार्वजनिक गरिरहेको विश्व स्वास्थ्य संगठन र वल्र्डोमिटरको तथ्यांक हेर्दा विश्वभरि नै संक्रमण हुनेमध्ये युवाहरूको संख्या नै अगाडि छ । सामान्यतः दीर्घरोगी र प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरू बढी प्रभावित हुने भए पनि दक्षिण एसियाली मुलुकमध्ये भारत र नेपालमा युवा मृत्युदर बढी छ । तर, अमेरिकामा युवा संक्रमित बढी भए पनि अन्य उमेर समूहको तुलनामा उनीहरूको मृत्युदर एकदमै कम भएको मञ्जु टेलरले नयाँ पत्रिकामा लेखेकी छन् ।
युवाकेन्द्रित परीक्षण हुनु
नेपालमा कोभिड संक्रमण देखिएपछि ट्राभल हिस्ट्रीको आधारमा कोभिड परीक्षण गरिनुले युवा संक्रमितको संख्या बढी देखिएको अनुमान गर्छन्, वरिष्ठ सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन । भन्छन्, ‘सुरुवातमा भारत र तेस्रो मुलुकबाट नेपाल भित्रिएका व्यक्तिको मात्र परीक्षण गरिएको थियो । किनकि त्यतिवेलासम्म नेपालमा संक्रमण देखिएको थिएन ।
विदेशबाट नेपाल आएका अधिकांश व्यक्ति रोजगारी र उच्च शिक्षाका लागि बाहिरिएका थिए, जुन १८ देखि ४५–५० वर्ष उमेर समूहका छन् । उनीहरूबाट संक्रमण नेपाल भित्रिएकाले यो उमेर समूह बढी प्रभावित भएको हुन सक्छ ।’ योसँगै सामाजिक कार्यमा बढी घुलमिल हुने भएकाले समेत युवा वर्गमा अन्य उमेर समूहको तुलनामा छिटो संक्रमण फैलिएको विज्ञहरूको अनुमान छ ।
दक्षिण एसियाली मुलुकमा १८ देखि लगभग ५० वर्ष उमेर समूहका व्यक्तिहरू मात्र सामाजिक, आर्थिक गतिविधिमा सक्रिय रहन्छन् । डा.पुन भन्छन्, ‘रोजगारी, व्यवसाय वा सामाजिक कार्यमा बढी सक्रिय रहने व्यक्तिहरूबाटै समाजमा संक्रमण फैलिएको छ । नेपालको सन्दर्भमा ५० वर्षभन्दा माथिका अधिकांश व्यक्तिहरू काममा सक्रिय रहँदैनन्, जसकारण संक्रमणको दर कम देखिन्छ ।’
हालसम्म जति पनि वृद्धवृद्धा संक्रमणबाट प्रभावित भएका छन्, त्यसमध्ये अधिकांशमा युवाबाट संक्रमण सरेको देखिन्छ । ‘भाइरसको प्रकृतिअनुसार संक्रमण देखिएका हरेक व्यक्तिहरू बराबर रूपमा प्रभावित हुँदैनन्, जसकारण परिवारको युवा सदस्यमा समस्या नदेखिएर ज्येष्ठ नागरिकमा संक्रमण देखिएको हुन सक्छ ।
संक्रमणको शंका गरेर परीक्षण गराउने संख्या पनि युवाकै बढी हुन्छ, जसले स्वाभाविक रूपमा संक्रमित युवाको संख्या बढी देखाउँछ,’ डा.पुनले भने । पछिल्लो समय लक्षणसहितका संक्रमित देखिन थालेकाले युवाहरू अझ धेरै प्रभावित हुने अनुमान गरिएको छ ।
लकडाउन पूर्ण रूपमा खुलेसँगै काममा सक्रिय रहने उमेर समूह भिडभाड वा एकअर्काको सम्पर्कमा रहने हुँदा उनीहरू नै बढी जोखिममा रहने चिकित्सकहरू बताउँछन् । भिडभाड बढेसँगै लक्षणसहितका संक्रमित देखिन थालेकोमा फ्लु र कोभिड संक्रमण छुट्याउनुपर्ने बताउँछन्, डा. पुन । भन्छन्, ‘यो मौसममा फ्लु र अन्य भाइरसको संक्रमणसमेत देखिने हुँदा सबै रुघाखोकी, ज्वरोजस्ता लक्षणलाई कोभिड भन्न सकिँदैन । परीक्षणपछि फ्लु र कोभिड छ्ट्याएमा समाजमा सक्रिय रहने उमेर समूहलाई लक्षित गरेर नयाँ प्रोटोकल अपनाउन सकिन्छ ।’
मृत्यु भएका युवामा दीर्घरोग
नेपालमा कोभिड संक्रमणका कारण मृत्यु भएको पुष्टि गरिएका ७३ जनामध्ये अधिकांशमा कोभिडबाहेक अन्य स्वास्थ्य समस्या रहेको चिकित्सकले बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले मृत्यु भएका व्यक्तिमा कोभिडको रिपोर्ट पोजेटिभ देखिएमा मृत्युको कारण कोभिड संक्रमण नै मान्ने गरे पनि मृत्युको कारण अन्य रोग हुन सक्ने चिकित्सकहरू बताउँछन् । नेपालमा ४ जेठमा कोभिडका कारण मृत्यु भएकी ३४ वर्षीया महिला सुत्केरी थिइन् । ५ असारमा जनकपुर अस्पतालमा मृत्यु भएका १६ वर्षीय राजु सदामा मेनिगो (बे्रनसम्बन्धी) इन्सेफ्लाइटिस रहेको अस्पतालले जनाएको थियो ।
बुधबार पर्सामा मृत्यु भएका वीरगन्ज महानगरपालिका–१५ का ४६ वर्षीय पुरुष मधुमेहका बिरामी थिए । यी प्रतिनिधि उदाहरणले हालसम्म कोरोनाका कारण मृत्यु पुष्टि भएका अधिकांश व्यक्तिमा कोरोनाबाहेक अन्य समस्यासमेत भएको पाइन्छ । डा. पुन भन्छन्, ‘युवा मात्रै नभई कुनै पनि उमेर समूहका मानिसमा दीर्घरोग भएका कारण भाइरसले बढी क्षति पु-याएको छ । सामान्यतः दीर्घरोगीमा अन्य भाइरससँग लड्ने क्षमता कम हुने हुँदा भाइरसले शरीरमा छिटो हानि गर्छ । अन्तर्राष्ट्रिय विभिन्न तथ्यांक हेर्दा नेपाल भारतजस्ता मुलुकमा युवा बढी प्रभावित हुनुको मुख्य कारण दीर्घरोगलाई मान्न सकिन्छ ।’