काउन्सिलर उम्मेदवार गुरुङले थाले चुनावी घर दैलो अभियान
लन्डन । भूतपूर्व गोर्खा सैनिक तथा गैर आवासीय नेपाली सङ्घ युरोप पूर्व उपसंयोजक एक जना समाजसेवी अभिन्यता एवम् व्यवसायी लक्ष्य गुरुङले बार्नेट हेल वार्डबाट काउन्सिलको कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवारका रूपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन्।
ब्रिटेनमा आउँदो मे महिनाको ३ तारिखमा हुन गैरहेको स्थानीय निकायको चुनावमा उनलाई सत्तारुढ कन्जर्भेटिभ पार्टीले बार्नेट काउन्सिलको हेल वार्डबाट उम्मेदवारको रूपमा छनोट गरेको हो।
गुरुङले आइतबार बिहान मिलहिल क्षेत्रमा घर दैलो कार्यक्रम अनुसार स्थानीय वासिन्दाका समस्याहरूका बारेमा जानकारी लिएका थिए। उनको सो अभियानमा हेण्डन क्षेत्रका सांसद डा. म्याथ्यु अफोर्ड, स्थानीय कन्जर्भेटिभ पार्टीका पदाधिकारीहरू ओली हेजल, ली ट्याफ, श्रीमती स्मीता ट्याफ तथा बार्नेट काउन्सिलमै कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदका उम्मेदवारहरू लेथ जेलाह तथा एलिएट सिमवर्ग पनि सहभागी भएका थिए ।
‘हामीले भेटेका धेरैजसो मतदाताहरूले आफ्नो घर अगाडिको सडकपेटी, पार्क, ट्राफिक, चोरीको समस्या तथा त्यसक्षेत्रमा बन्न लागेको एउटा नयाँ आवास योजनाबारे आफ्ना चिन्ताहरू हामीलाई बताए। हामीले स्थानीय समुदायका यी गुनासाहरू सम्बोधन गर्न आफ्नो पार्टीको तर्फबाट काम गर्ने विश्वास दिलाएका छौँ’- गुरुङले मेरो जिल्ला डट कमलाई बताए ।
सन् २०१४ मा भएको स्थानीय चुनावमा आफ्नो गृह क्षेत्र बर्न्टओक वार्डबाट उम्मेदवारी दिएका गुरुङ यस पटक कन्जर्भेटिभ पार्टीकै तर्फबाट हेल वडाबाट उम्मेदवार बनेका हुन् ।
बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ गैर आवासीय नेपाली सङ्घको युरोप क्षेत्रमा पूर्व उपसंयोजक पनि हुन् । उनलाई हालै गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गोर्खासँग सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको छ ।