भारतले बनायो कोरोना जाँच्ने विश्वकै सस्तो किट, तत्काल रिपोर्ट - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भारतले बनायो कोरोना जाँच्ने विश्वकै सस्तो किट, तत्काल रिपोर्ट



एजेन्सी- इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) दिल्लीले कोरोना भाइरसको परीक्षणका लागि विश्वमै सबैभन्दा सस्तो डायग्नोस्टिक किट बनाएको दाबी गरेको छ। बुधबार आईआईटी दिल्लीले ‘कोरोस्योर’ किट सार्वजनिक गरेको हो।

टाइम्स अफ इन्डियाका अनुसार आरटी पीसीआर प्रविधिको यो किटबाट कोरोना भाइरस जाँचको लागत मूल्य ३९९ भारु लाग्ने आईआईटीले जनाएको छ। यद्यपि, आरएनए आसोलेशन तथा अन्य खर्च समेत जोड्दा यसको मूल्य ६५० भारु (१०४० रुपैयाँ) हुने बताइएको छ।

यो किटले परीक्षण रिपोर्ट तीन घण्टामा उपलब्ध गराउने छ। भारतका मानव संसाधन विकास मन्त्री रमेश पोखरियालले कोरोस्योर लन्च गर्दै यो किट आधिकारिक परीक्षण प्रयोगशालामा उपयोगका लागि चाँडै उपलब्ध गराइने बताएका छन्।

पोखरियालका अनुसार कोरोस्योर किट उपयोगका लागि इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर) ले स्वीकृति दिइसकेको छ।

न्यूटेक मेडिकल डिभाइस नामक कम्पनीसँगको सहकार्यमा बनाइएको यो किट अब ठूलो परिमाणमा उत्पादन गरेर बजारमा पठाउन सकिने आईआईटीले जनाएको छ।

कोरोस्योरले अन्य विधिबाट गरिएका परीक्षणभन्दा सटिक परिणाम दिने दाबी गरिएको छ।