भिआइपीहरूमा नै फैलियो कोरोना: मन्त्री, सांसद र मेयर संक्रमित - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

भिआइपीहरूमा नै फैलियो कोरोना: मन्त्री, सांसद र मेयर संक्रमित



काठमाडौं- पछिल्लो समय नेपालमा पनि उच्चपदस्थहरूमा कोरोना संरमण देखिन थालेको छ । प्रदेश २ का मन्त्री, मेयर तथा सांसदहरूलाई कोरोना संक्रमण देखिएको छ ।

जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगन्जको नारायणी अस्पतालमा पनि दिनहुँजसो कोरोना संक्रमणका बिरामी आउने क्रम रोकिएको छैन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको छ ।

उनीसँगै उनले सम्हालेको मन्त्रालयका आठ कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ । मन्त्री यादवका अनुसार मुख्यमन्त्री कार्यालयका चारजनामा पनि कोरोना संक्रमण देखिएको छ । साथै प्रदेशमा कोरोना संक्रमण नियन्त्रण र रोकथाम कार्यको नेतृत्व सम्हालिरहेको सामाजिक विकास मन्त्रालयकै चारजना कर्मचारीसमेत संक्रमित भइसकेका छन् ।

त्यतिमात्र होइन वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) विजय सरावगी र सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई पनि कोरोना संक्रमण देखिएको छ । अहिले मन्त्री यादव, महानगर प्रमुख सरावगी र सांसद यादवलगायत सम्पूर्ण संक्रमित पदाधिकारीलाई आ–आफ्नै घरमा आइसोलेट गरिएको छ ।

अहिलेसम्मको अवस्था विश्लेषण गर्ने हो भने नागरिकको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने राजनीतिक व्यक्तिहरू कोरोनाको अत्यन्तै जोखिममा छन् ।

वीरगन्ज महानगरका प्रमुख सरावगी, त्यहाँका सांसद यादव र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव बन्दाबन्दीका बेला पनि पहिले जस्तै सक्रिय भएर काममा खटिएका थिए । साथै स्थानीय तहका जनप्रतिनिधिहरू अझै बढी जोखिममा रहेको देखिन्छ ।

प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या पाँच हजार नाघिसकेको छ ।