खोप विशेषज्ञ भन्छन्: कोरोनाको खोप बनाउन वर्षौं लाग्छ - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

खोप विशेषज्ञ भन्छन्: कोरोनाको खोप बनाउन वर्षौं लाग्छ



अस्ट्रेलियाका एक खोपविज्ञले कोरोनाविरुद्धको खोप खोप छिट्टै बन्न नसक्ने बताएका छन् ।

कोभिड–१९ को खोप छिटो विकसित भएमा जीवन सामान्य बन्थ्यो कि भनी आशा गर्नेहरूलाई अस्ट्रेलियाका एक खोपविज्ञले यथार्थ प्रस्तुत गरेका छन् । खोप छिट्टै बन्न नसक्ने उनको भनाइ छ ।

क्वीन्सल्यान्ड विश्वविद्यालयका इयन फ्रेजरले बताएअनुसार, वैज्ञानिकहरूले अहिलेको कोरोनाभाइरस यसअघि कहिले पनि नदेखेकाले निकै धेरै चुनौतीको सामना गर्नु परिरहेको छ ।

प्राध्यापक फ्रेजरले गर्भाशयमा हुने क्यान्सर गराउने ह्युमन पापिलोमा भाइरसको खोपको सफल विकासमा संलग्न रहिसकेका छन् । त्यो खोप बनाउन वर्षौं लागेको थियो ।

विभिन्न थरी कोरोनाभाइरसहरूको सुरक्षित खोप बनाउन पहिलेदेखि नै गाह्रो रहेको उनको भनाइ छ । भाइरसले श्वासप्रश्वास नलीको माथिल्लो भागलाई संक्रमित तुल्याउने र त्यसलाई मानव शरीरको रोगप्रतिरोधक क्षमताले सुरक्षा दिन नसक्ने भएकाले खोप बनाउने काम चुनौतीपूर्ण रहेको प्राध्यापक फ्रेजरको भनाइ छ ।

अहिले संसारका विभिन्न देशमा खोपहरूको परीक्षण भइरहेका छन् र कतियप परीक्षण मानवमाथि समेत गरिँदैछन् ।

यसले सफल खोप विकसित हुने सम्भावना बढाएको त छ तर त्यससँगै कुन चाहिँ खोप उपयुक्त हुन्छ भन्ने विषय टुंगो लगाउन गाह्रो पारेको अवस्था छ, प्राध्यापक फ्रेजरले बताए ।