अमेरिकामा कोरोनाको ताण्डव: एकैदिनमा २१ सयको ज्यान लियो - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अमेरिकामा कोरोनाको ताण्डव: एकैदिनमा २१ सयको ज्यान लियो



काठमाडौं- अमेरिकामा कोरोनाका कारण एकै दिनमा मृत्यु हुनेको सङ्ख्या विश्वकै सबैभन्दा बढी भएको छ।

त्यहाँस्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणले शुक्रबार एकै दिन २१ सय ८ जनाको मृत्यु भएको हो।

एकै दिनमा यति धेरै जनाको मृत्यु अहिलेसम्म विश्वका कुनै पनि देशमा भएको थिएन।

संसारमै सबैभन्दा बढी संक्रमितको संख्या भएको अमेरिका मृत्युका हिसाबले पनि सबैभन्दा बढी क्षति बेहाेर्ने देश बन्ने सम्भावना देखिएको छ।

अहिलेसम्म विश्वमा सबैभन्दा बढी मृत्यु हुने देश इटली हो, जहाँ यो खबर लेख्दासम्म कोरोनाबाट १८ हजार ८ सय ४९ जनाकाे मृत्यु भएकाे छ भने अमेरिकामा अहिलेसम्म १८ हजार ७६९ जनाको ज्यान गएकाे छ।

तर अमेरिकामा जुन गतिमा कोरोनाबाट संक्रमण र मृत्यु भइरहेको छ, त्यस हिसाबले कोरोनाबाट सबैभन्दा बढी मानव क्षति बेहोर्ने देश पनि अमेरिका नै बन्ने आशंका बढेर गएको छ।

संक्रमितको संख्या संसारमै सबैभन्दा बढी अमेरिकामा ५ लाख २८ हजार ८ सय ७६ पुगेको छ। यसपपिछ विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा देखिएका छन्।

त्यहाँ अहिलेसम्म १ लाख ४७ हजार ५ सय ७७ जना कोरोनाबाट संक्रमित भएका छन्।