कोरोना सम्बन्धि सुचना लुकाउँदै भारत
बीबीसी- ४५ वर्षीय राजेश कुमारलाई जुनमा खोकी लागेको थियो । केही दिनपछि उनलाई ज्वरो पनि आयो । उनले कोरोना भाइरसको संक्रमण परीक्षण गराएनन् । बरु पाँच दिनसम्म ज्वरो भगाउने औषधी खाए। तर ज्वरो कम भएन । उनलाई केही दिनमै श्वासप्रश्वाससम्बन्धी समस्या देखियो ।
उनको परिवारले कोरोना भाइरस परीक्षण गर्न आग्रह गरे पनि उनले परीक्षण गराएनन् । दिल्लीस्थित घरबाट बाहिर पाइलै नराखेकाले आफूलाई कोभिड-१९ होला भन्ने सम्भावना नरहेको उनको तर्क थियो । र, उनले कोभिड-१९ भएका कसैलाई नभेटेका बताएका थिए ।
लक्षण देखिएको आठौं दिनमा उनको अवस्था बिग्रँदै गएपछि अस्पताल लगियो र उनलाई कोरोना भाइरसको संक्रमण भएको देखियो ।
उनले भने, “म त बाँचे, तर डाक्टरहरू भन्थे केही ढिला भएको भए मेरो ज्यान जान सक्थ्यो ।” उनले अझ पनि आफूलाई कसरी कोभिड-१९ भयो भन्ने भेउ पाउन सकेका छैनन् ।
विज्ञहरू भन्छन्, “राजेश कुमारजस्ता संक्रमितबाट पनि प्रमाणित हुन्छ कि भारतमा समुदाय संक्रमण फैलिइसकेको छ ।”
तर भारत सरकारले अहिले पनि समुदायमा संक्रमण भएको भन्ने स्वीकार गरेको छैन र स्वीकार्न चाहँदैन । समुदायमा संक्रमणबारे प्रस्ट परिभाषा नभएको सरकारी अधिकारीहरु बताउँछन् ।
अहिलेसम्म केरला र पश्चिम बंगला दुई राज्यले मात्र समुदायमा संक्रमणको चरणमा प्रवेश गरेको स्वीकार गरेका छन् । भाइरस संक्रमणबाट बच्न सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन आग्रह गरिएको छ ।
विश्वव्यापी रूपमा हेर्दा: जब कुनै संक्रमणको स्रोत पत्ता लगाउन सकिँदैन । त्यस्तो अवस्थालाई समुदाय संक्रमण भएको मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को निर्देशिकाले पनि भन्छ, “कुनै संक्रमितलाई कहाँबाट रोग सर्यो भन्ने पत्ता लाग्न सकेन भने समुदायमा संक्रमण भयो भन्ने बुझ्नुपर्छ ।”
दिल्लीस्थित सर गंगाराम अस्पतालको छाती रोग विभागका प्रमुख डा. अरविन्द कुमार भन्छन्, “भारतमा पनि कोरोना संक्रमितको स्रोत पत्ता लाग्न सकेको छैन । कोही व्यक्तिमा कसरी संक्रमण भयो भन्ने पत्ता लगाउन नसकिने किसिमका केसहरू अहिले अस्पतालमा आइरहेका छन् । यसले पनि भारतमा कोरोनाको समुदाय संक्रमण भएको छ भन्ने देखाउँछ ।”
भारतमा अहिले १२ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ र २९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । “यी तथ्यांक गलत होइनन्,” डा. कुमार भन्छन्, “एकपछि अर्को राज्यमा संक्रमण दर तीव्ररुपमा बढिरहेको छ । आँखा अगाडि भएको तथ्यलाई अस्वीकार गर्नुको कुनै अर्थ छैन ।”
तर सरकार भने कुमारको यस विचारप्रति सहमत छैन । इन्डियन मेडिकल एसोसिएसनका एक चिकित्सकले हालै भारतमा संक्रमण समुदायस्तरमा पुगेको बताएका थिए । तर दुई दिनपछि उक्त संस्थाले त्यसमा असहमति जनाउँदै त्यो भनाइ ती डाक्टरको ‘व्यक्तिगत धारणा’ रहेको भन्दै खण्डन गरेको थियो ।
भाइरोलोजिस्ट डा. शाहिद जमील भन्छन्, “सरकारले विज्ञहरूको कुरा सुन्नुपर्यो र प्रमाण स्वीकार गर्नुपर्यो । भाइरस ठूला सहर र केही ‘हटस्पट’हरूमा सीमित पार्न सकिन्छ र देशको अरू भागमा पुग्नबाट रोक्न सकिन्छ भन्ने सोच थियो । त्यस्तो त भएन र अहिले भाइरस नियन्त्रणभन्दा बाहिर पुगेको छ र तीव्ररुपमा फैलिइरहेको छ ।”
भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिइरहेको छ भने अधिकांश केसहरुमा कोबाट कसलाई सर्यो भन्न सकिने स्थिति छैन । डा. जमीलका अनुसार सरकारकै सर्वेक्षणमा पनि ४० प्रतिशत सहभागीले आफू कसरी बिरामी परेँ भन्न सकेका छैनन् ।
उनले भने, “समुदायमा संक्रमण फैलिइसक्यो भन्ने हामीसँग पर्याप्त प्रमाण छन् ।”
सरकारले निरन्तर अस्वीकार गरिरहेकै बेला केही हप्ता लगाएर समुदायमा संक्रमण पुगेको बताइन्छ । विज्ञहरू भन्छन्, “अनुमान मात्र लगाउन सकिन्छ ।” किनभने सरकारले यसबारेमा धेरै बोलेको छैन र सरकारी अडानलाई समर्थन गर्ने किसिमको परिभाषा पनि बाहिर ल्याएको छैन । एउटा कारण हुन सक्छ- समुदायमा संक्रमण पुग्यो भन्यो भने सरकारी नीतिको असफलता भन्ने अर्थ लाग्छ ।”
समुदायमा संक्रमणका लागि सरकारलाई दोष लाउन नसकिने भन्दै डा. जमील भन्छन्, “तर सरकारले विज्ञानले प्रमाणित गरेको तथ्यलाई स्वीकार गर्न सक्नुपर्छ । भारतजस्तो सघन जनसंख्या भएको देशमा समुदायमा संक्रमणको सम्भावना जहिले पनि रहन्छ ।”
अस्वीकार गर्दा व्यर्थमा दबाब बढ्ने र यो विषयमा अनावश्यक विवाद बढ्ने भएकोले सरकारले समुदाय संक्रमण भएको अस्वीकार गर्दै आएको विज्ञहरुको तर्क छ । सरकारसँग काम गरिसकेका अग्रणी सरुवारोग विशेषज्ञ डा. ललित कान्त भन्छन्, “समुदायमा संक्रमण होस् या नहोस् हाम्रा रणनीतिमा सुधार गरिरहनुपर्छ ।”
उनले भने, “एउटा राज्यमा नियन्त्रण भएको देखिँदा अर्कोमा बढेको छ। सङ्क्रमण झन् झन् नराम्रो अवस्थातर्फ गइरहेको छ। यो कटु सत्य हो ।”
तर समुदायमा संक्रमण भएको भन्ने स्वीकार गर्नुअघि केही रणनीतिमा महत्त्वपूर्ण परिवर्तन गर्नुपर्ने हुन्छ । डब्लूएचओ भन्छ, “ठूलो संख्यामा संक्रमण भएको अवस्थामा व्यक्तिगत संक्रमण या ‘कन्ट्याक्ट ट्रेसिङ’ र क्वारन्टिनको आवश्यकता हुँदैन ।”
त्यसबेला संक्रमण कति क्षेत्रमा पुग्यो भन्ने तथ्यांक केलाएर त्यसै बमोजिम स्वास्थ्यसेवाकर्मीहरू तैनाथ गर्नुपर्छ । सरकारले तत्काल रणनीति परिवर्तन गर्न नचाहेको हुन सक्ने डा. कान्त बताउँछन् ।