चीनमा करिव ५४ हजार कोरोना संक्रमित निको भए
एजेन्सी । सन् २०१९ को अन्तिमतिरबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भारइस अर्थात् कोभिड-१९ बाट विश्वभर ३३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
हाल चीनमा (हङकङ र ताइवान) मा गरी ८० हजार ७१० कोरोना संक्रमित भएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । चीनमा मात्र ३ हजार ३४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी कोरोना संक्रमितहरु उपचारपछि निको हुने दर पनि बढेको छ । चीनमा कोरोना संक्रमितको उपचारपछि ५३ हजार ७२७ जना निको भएको जनाइएको छ ।
वुहानमा पहिलोपटक निमोनिया देखिएको थियो । निमोनिया देखिएपछि चिनियाँ एकजना चिकित्सकले नोभोल कोरोना भएको चेतावनी दिएका थिए ।
चीनमा पहिलो पटक कोरोना भाइरसको चेतावनी दिने चिकित्सकको यसअघि नै मृत्यु भइसकेको छ । हालसम्म चीनमा चारजना चिकित्सकको मृत्यु भएको छ ।
विश्वभरमा ८५ मुलुकमा फैलिएको कोरोनाबाट चीनबाहिर १७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३४० जनाजतिको चीनबाहिर मृत्यु भइसकेको छ ।
चीनबाहिर सबभन्दा धेरै इटालीमा १४८, इरानमा १०७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ४२ र जापानमा १२ जनाको मृत्यु भइसकेको छ ।
विश्वभरका वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सिन बनाउने दौडमा जुटिरहेका छन् ।